टेनिस विजेता सम्मानित
नेपाल जुनियर ओपन टेनिस च्याम्पियनसिप (जुनियर लनटेनिस खेलाडीहरुका अभिभावक) ले कतारको दोहामा भएको कतार एसियाली जुनियर टेनिस टिम कपमा तेश्रो भएको नेपाली टोलीलाई सोमबार सम्मान गरेको छ ।
डिसेम्बर २३ देखि ३० तारिखसम्म भएको उक्त प्रतियोगतामा संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा, प्रणव खनाल र सम्यकभूषण वज्राचार्य सम्मिलित पदक विजेता टोली सम्मानित भए ।
त्यस्तै भियतनामको होचिमिन्हमा सम्पन्न आईटीएफ एसियाली १४ एन्ड अन्डर डेभलोप्मेन्ट टेनिस च्याम्पियनसिपको टुर– २ मा पहिलो स्थान हासिल गर्ने नेपाली गल्र्स जोडी एनी माथेमा र इरा राउत पनि सम्मानित भए । उक्त जोडीले फाइनलमा श्रीलंकाली खेलाडी जोडीलाई पराजित गरेको टिम प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । टुर– १ मा भने एनी र इराको जोडी सेमिफाइनलमा श्रीलंका र मकाउका खेलाडी जोडीसंग पराजित भएका थिए । संरक्षकले भने टुर– १ मा पाँचौं स्थानमा यात्रा टुंगाएका थिए भने टुर– २ मा कांस्य जितेका थिए । त्यो उपलब्धीसंगै संरक्षक डिभिजन– १ मा पनि बढुवा भएका छन् ।
सोही अवसरमा टिम कपका टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्य र डेभलोप्मेन्ट टेनिसका टिम प्रशिक्षक कृष्णराज घलेलाई पनि सम्मान गरिएको थियो ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा उनीहरुलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणालगायतले मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । सो अबसरमा अध्यक्ष राणाले प्रशिक्षक, खेलाडी, संघ अधीकारी र अभिभावक सबैको मिहेनत र प्रयासका कारण यो सफलता हात लागेको बताए । उनले आफू आए पछि जुनियर प्रोग्राममा प्राथमिकता दिएको र आइटिएफले प्रदान गरेको जुनियर इन्सेटिभ कार्यक्रमको कारण पछिल्लो पुस्ताका खेलाडी उत्कृष्ट रहेको बताए ।