अल्डरसर्ट टाउन एफसी युकेलाई हराउदै सुदूरपश्चिमाञ्चल एफसी अन्तिम चारमा
प्रेमनारायण न्यौपाने
पोखरा
युकेको अल्डरसर्ट टाउन एफसीविरुद्ध सेकेण्ड हाफमा गरेको तीन गोलको मद्दतले सुदूरपश्चिमाञ्चल फुटबल कलब कैलाली पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को अन्तिम चारभित्र प्रवेश गरेको छ। सोमबार पोखरा रड्डशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा युकेको पाँचौं डिभिजनको क्लब अल्डरसर्ट टाउन एफसीविरुद्ध तीन गोल गर्दै सुदूरपश्चिमाञ्ल एफसी अन्तिम चारभित्र पर्न सफल भएको हो।
उसको जीतमा म्यान अफ दी म्याच हेमन्त थापामगर, सुनिल वल र दिनेश राजवंशीले एक–एक गोल गरेका थिए। सुदूरपश्चिमाञ्चलले तीनै गोल पछिल्लो २८ मिनेटभित्र गरेको थियो। उसले मनाङ र आर्मीबीचको विजेतासँग फागनु १गते फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ। खेलमा सामान्य फल भए पनि ओभरअलमा सोमबारको खेलमा अनुशासित र भद्रपना थियो। ९४ मिनेटको समयमा रेफ्रीले कुनै पनि खेलाडीलाई कार्ड देखाउनुपरेन।
एकले अर्कोलाई चिन्नै समय लगाएका दुवै टीम फस्ट हाफमा गोलरहित बराबरी खेलेका थिए। विस्तारै आक्रामक खेल सुरु गरेका दुवैले सेकेण्ड हाफको १५ मिनेट पनि त्यसै खेरा फाले। पहिलो खेलमा नेपाल एपीएफ क्लबलाई १–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको उसले विदेशी पाहुना टीमविरुद्ध गोलको खाता खोल्न भने ६२ मिनेट कुर्नुपरेको थियो।६२ मिनेटमा सब्स्टिच्युट प्लयेर सुनिल वलले टीमको लागि गोलको खाता खोले।तीन मिनेटअगाडि मात्र मनिराम चौधरीको स्थानमा मैदान छिरेका सुनिलले हेमन्त थापामगरको पासमा गोल गरेका थिए।हेमन्तको पासमा उनले विपक्षी गोलकिपर जेम्स स्टालोनलाई जिल्याउँदै बललाई सेकेण्डबारमा जाली चुमाएका थिए।
६७ मिनेटमा अल्डरसटले बराबरी गोल गर्ने अवसर पाएको थियो तर साम हचिन्स असफल भए। डान मेलर्सको क्रसमा साम हचिन्सले सिक्सयार्डबाट हानेको बल फस्टबार हुँदै बाहिरियो। ७२ मिनेटमा हेमन्तकै कर्नरमा लावलको प्रहारलाई विपक्षी खेलाडी साम हचिन्सले सिक्सयार्ड बक्सभित्रबाट क्लियर गरे।७५ मिनेटमा हेमन्तकै लामो प्रहारलाई गोलकिपरले पञ्च गरेर असफल पारिदिए। लगातार तीन आक्रमण गरेका हेमन्तले चौथो आक्रमणमा गोल गर्न सफल भए। ८१ मिनेटमा वान भर्सेस वान बलमा उनले सिक्सयार्डबाट जाली चुमाए। अल्डरसर्टलाई समर्थन गर्ने दर्शक पनि वेट एण्ड सी को अवस्थामै रहेका थिए। दुई गोल लगातार खाएपछि पनि पाहुना टीमले गोल फर्काउने आश गरेका दर्शक तेस्रो गोल खाएपछि भने विस्तारै प्यारापिट खाली गरेका थिए।
८५ मिनेटमा हेमन्तकै क्रसमा शिव सुवेदीको प्रहार सेकेण्डबार हुँदै बाहिरियो। लगातारको प्रयासपछि सुदूरपश्चिमाञ्चलले विपक्षीविरुद्ध ८७ मिनेटमा तेस्रो गोल थप्यो। लावलको पासमा प्लेमेकर दिनेश राजवंशीले सेकेण्डबारमा भलि सुट हानेका थिए।सब्स्टिच्युट हुने तैयारीमा रहेका दिनेशलाई गोल गरेको दुई मिनेटपछि निलेश विष्टले विस्थापन गरेका थिए।
पहिलो हाफ दुवै टीम वेट एण्ड सी को अवस्थामा खेलेका थिए। अल्डरसर्टका अग्लाकदका खेलाडीले विपक्षीका केही प्रहार असफल पारेका थिए।उनीहरूले डिफेन्समै बढी समय लगाएका थिए, त्यसको दबाब सुदूरपश्चिमाञ्चललाई प्रत्यक्ष परेको देखिन्थ्यो भने चिसो मौसममा खेल्ने बानी परेका अल्डरसर्टका खेलाडीलाई तातो मौसमले छिनछिनका सताएको कारण उनीहरू रेफ्रीबाट सिठ्ठी बज्नेवित्तिकै पानी खानतिर दौडिएको देखिन्थ्यो। अल्डरसर्टले २१ मिनेटमा पहिलो गोल गर्ने उत्कृष्ट अवसर पाएको थियो। विपक्षी डिफेण्डर अनन्त तामाङ र बबिलाई विट गरेर डान मेलर्स क्लोज रेन्जबाट प्रहार गरेको बलले फस्टबारको दिशा रोज्यो। २९ मिनेटमा जोर्डनको लामो प्रहारलाई सिकसयार्डबाट विपक्षी गोलकिपर वीरेन्द्र चन्दले नियन्त्रणमा लिए। ३६ मिनेटमा डान मेलर्सको क्रसममा जेम्स हचिन्सको प्रहारलाई सुदूरपश्चिमाञ्चलका लावलले हेड गरेर विफल पारिदिए।
हारपछि अल्डरसर्ट टाउन एफसी युकेका प्रशिक्षक मार्क वार्डेनले परिवर्तित मौसममा आफ्ना खेलाडी फिट हुन नसकेको बताए। उनले १–० ले पछि परेको अवस्थामा पनि गोल गर्ने केही मौका पाएको तर खेलाडी तातो मौसमले थाकेको दाबी गरे। सेकेण्ड हाफमा विपक्षीको रणनीति आफ्नो खेलाडीले बुझ्न नसक्दा धेरै गोल खाएको भन्दै उनले विपक्षी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए।
जीतपछि सुदूरपश्चिमाञ्चल एफसीका प्रशिक्षक किरण श्रेष्ठले फस्ट हाफमा विपक्षी टीमले इयर बल खेलको डेमाण्ड गर्दै हावी हुन खोजे पनि आफूहरू सतर्क भएर खेलेको बताए। आफूहरू वेट एण्ड सी को अवस्थामा फस्ट हाफ खेले पनि सेकेण्ड हाफमा भने टोटल ग्रास बलमार्फत आक्रामक खेल खेल्दै जितेको दाबी गरे। उनले टीम विस्तारै सेट हुँदै गएको बताए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
मड्डलबार थ्रीस्टार क्लब र झापा–११ बीच तेस्रो क्वाटरफाइनल खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए। तस्विर ः उमेश पुन