क्रिकेट मैदान निर्माणमा सरकारको तर्फबाट आवश्यक सहयोग हुने पौडेलको प्रतिबद्धता

pokhara cricket edited
 पोखरा
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले पोखराको क्रिकेट मैदान निर्माणमा सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरामा निर्माण हुँदै गरेको क्रिकेट मैदानको अवलोकनको अवसरमा सहभागीसँगको भेटमा उनले त्यस्तो बताएका हुन्।मुख्य सचिव पौडेलले पोखराको क्रिकेट मैदानलाई विश्वकै खेल भेन्यु बनाउने पोखरेलीको सोचमा नेपाल सरकार सकारात्मक रहेको समेत बताए।
उनले मैदान निर्माणका बारेमा आवश्यक प्रस्ताव ल्याएमा सरकार त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न समेत सकारात्मक रहेको धारणा राखे। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले क्रिकेट मैदानको वृहत् विकासका लागि तयार पारिएको योजनाका बारेमा जानकारी गराएका थिए। उनले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समितिले करिब दुईसय भन्दा बढी दर्शक क्षमता रहेको दर्शक प्यारापिट १५ लाखको लागतमा निर्माण गर्न लागेको समेत जानकारी गराएका थिए। प्यारापिट २० मिटर लम्बाईको रहने  र असार मसान्तसम्म सम्पन्न भइसक्ने समेत उनले बताए।
अवलोकनका अवसरमा हालै गठन भएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण समितिका संयोजक अशोक पालिखे, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष रतन गुरुङ, क्रिकेट सङ्घ कास्कीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
८० रोपनी क्षेत्रफलमा निर्माण भइरहेको मैदानमा हाल पाँचवटा पिच निर्माण भइरहेको छ भने खेल अवलोकनका लागि दर्शकलाई सहज होस् भनेर प्यारापिट निर्माण गर्ने तयारी भइरहेको छ। यस्तै हेमजा र लेखनाथमा समेत बैकल्पिक क्रिकेट मैदान निर्माणका लागि जग्गा अवलोकन समेत भइरहेको समितिका संयोजक अशोक पालिखेले जानकारी दिए।  तस्विर ः सुदर्शन रञ्जित

Comment