दुई दशक पछि प्रकाश नै नायक
आठौँ दक्षिण एसियाली खेलकुद र १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि केही समानता देखिए । आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालले बक्सिङमा दुई स्वर्ण पदक जितेको थियो । स्वर्ण पदकधारी दिए, दाजु भाइ प्रकाश थापा मगर र रामचन्द्र थापा मगर । १२ वर्षमा खोला फर्कन्छ भन्थे, अन्ततः २० वर्षमा खोला फर्केको छ ।
२० वर्ष अघि काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापा मगरको मुख्य प्रशिक्षणमा नेपालले जारी साग खेलकुदमा बक्सिङमा ३ स्वर्ण, ६ रजत र ६ कांस्य पदक जित्यो । प्रकाशको नेतृत्वदायी प्रशिक्षणमा मिनु गुरुङ, भूपेन्द्र थापा र सनील शाहीले स्वर्ण पदक जिते । नेपाली बक्सिङमा एउटा कीर्तिमान कायम गर्यो । मुख्य प्रशिक्षक र खेलाडीको रूपमा साग स्वर्ण पदक जित्ने यो कीर्तिमान नेपाली लागि दुर्लभ रहेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीमा प्रकाशको हकमा बक्सिङमा भोगेका दुख र सुखका थुप्रै कुरा त्यत्तिकै महत्त्वपूर्ण र पठनीय हुन सक्छन् । तर, ५ दशकको नेटो काटेका उनका लागि पछिल्ला तीन वर्ष यादगार र महत्त्वपूर्ण रहेको छ । खेलाडी जीवन पछि उनी प्रशिक्षकको रूपमा कार्यरत नभएका होइनन् । परन्तु, चर्चा बाहिरका प्रशिक्षककै रूपमा उनले लामो समय बिताए ।
वि.स २०७३ मा उनले नेपाली बक्सिङमा महत्त्वपूर्ण अवसर पाए । यो अवसर थिएन, एउटा ठुलो चुनौती पनि थियो । यसै चुनौतीलाई आत्मसात् गर्दै उनले एक पछि अर्को सफलता दिलाए । उनको उपस्थितिमा नेपालले पहिलो पटक भारतमा खुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाए । संसारका एक से एक बक्सिङका शक्ति राष्ट्र सहित २५ टोलीको उपस्थितिमा नेपालले दुई कांस्य पदक जित्यो ।
यसले एका तीर प्रकाशको नेतृत्वको सही सुरुवात ठह¥यायो भने नेपाली बक्सिङ निकायमा बढ्दो आत्मविश्वास । थाइल्यान्ड ओपन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले केही स्तरीय खेलाडीलाई पराजित गर्दै नेपाली बक्सिङ लयमा फर्केको आभास दिएको थियो । यस पछि भएका प्रतियोगितामा नेपालले पदक त जितेन । तथापि केही आशा गर्ने ठाउँ देखियो ।
मिनु गुरुङ, सुशील थापा, भुपेन ,सनील शाही, पुनम रावल, माला राई, ललिता महर्जन,सङ्गीता सुनार, आशिष् दवाडी, दीपक श्रेष्ठ लगायत केही स्तरीय खेलाडीको जमात तयार भयो । जसमा नेपाली बक्सिङ पूर्ण आशावादी रहन पुग्यो । यस सागमा समेत नेपालले पाँच स्वर्ण पदकको आशा गरेको थियो । तीनमा सफलता हात पारेको छ । जितको नजिक पुगेर पनि सामान्य गल्तीका कारण दीपकले स्वर्ण पदक गुमाए । यो महत्त्वपूर्ण सफलता पछि प्रकाशको कथन छ,“ यो पूर्ण होइन, अझ गर्न बाँकी धेरै छ । ”यस पटक नेपाली बक्सिङमा एउटा नयाँ आयाम थपियो । चार जना नेपाली आरजे यो प्रतियोगिता सञ्चालन गर्ने प्राविधिक टोलीमा समावेश थिए । पुष्कर राज पन्त, रामचन्द्र थापा मगर, तारा राम श्रेष्ठ र धनकुमार मैनालीले यो अवसर पाएका थिए । आशा गरौँ प्रकाशको प्राविधिक नेतृत्वमा नेपाली बक्सिङले अझ थप उपलब्धि पाउँदै जाने छ ।