चामुण्डा मेयर कप स्नुकर माघ २५ देखि

Manoj Shiama
20 January, 2020 5:35 am


नेपाल विलियर्ड, स्नुकर तथा पुल सङ्घको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालका विभिन्न ४५ जिल्ला र भारतका गरी २ सय ५६ खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय च्याम्पियन नेपाल विलियर्ड, स्नुकर तथा पुल सङ्घका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए । नेपाली स्नुकरको इतिहासमा १ सय ४८ खेलाडी सहभागी प्रतियोगिता नै सबै भन्दा धेरै खेलाडी सहभागी भएको प्रतियोगिता हो । करिब ६ महिना अघि चामुण्डा स्नुकर क्लबले नै आयोजना गरेको चामुण्डा स्नुकर प्रतियोगितामा १ सय ४८ खेलाडी सहभागी भएका थिए ।
आयोजक क्लबका प्रबन्ध निर्देशक विनेश डङ्गोलले जिल्लाबाट आउने खेलाडीलाई बसोबास तथा भारतबाट आउने खेलाडीलाई बसोबास र खानाको व्यवस्था गरिने जानकारी दिए । भारतबाट करिब १७ खेलाडी आउने अनुमान गरिएको प्रबन्ध निर्देशक डङ्गोलले बताए ।
विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ । ७५ अङ्कसम्म सर्वाधिक ब्रेक कर्तालाई ३० हजार तथा सो भन्दा मुनी सर्वाधिक ब्रेक कर्तालाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई समान १०–१० हजार नगद प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख खर्च हुने बताइएको छ । फागुन १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू जोरपाटी स्थित आयोजक क्लबको आफ्नै हलमा हुने छ । आयोजकका अनुसार सिक्स रेड स्नुकर प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।