फेस्टिभलमा उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल

Manoj Shiama
13 February, 2020 10:33 pm

सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसनको आयोजनामा बिहीबार दोस्रो काठमाडौँ रोडसेफ्टी फिल्म फेस्टिभल सम्पन्न भएको छ ।
रसियन कल्चर सेन्टरको हलमा सम्पन्न सो फेस्टिभलको शुभारम्भ सांसद रंगमती शाहीले गरिन्। कार्यक्रममा पूर्व डिएसपी विपिन गौतमले सडक सुरक्षा तथा सेफ स्कुल नेपालको तर्फ बाट आत्मीय सिलवालले संस्थाको परिचय तथा उद्देश्य बारे प्रकाश पारे ।

साथै जुरी टिमको तर्फ बाट वरिष्ठ कलाकार आरपी पन्त, निर्देशक सुचित्रा श्रेष्ठ तथा माधव खरेल, पूर्व डिएसपी विपिन गौतम र पत्रकार स्वस्तिका पन्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १२ जना नेपाली कलाकार द्वारा अभिनीत “सेभ ३५०० लाइभ क्याम्पेन” भिडियो समेत लन्च गरिएको थियो । मोटर खेलको महासङ्घ फीमको सहयोगमा आयोजित सो फेस्टिभलमा कुल १८ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए । दीपक ठकुरी द्वारा निर्देशित फिल्म “उडेको सपना ” उत्कृष्ट फिल्म बन्न सफल भयो भने किशोर अनुराग द्वारा नै निर्देशित फिल्म “इन्ड अफ ड्रिम” दोस्रो र नेत्र बहादुर खड्का द्वारा निर्देशित “रङस्टेप” नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो । विजेता फिल्महरूलाई क्रमशः ५०,०००, ३०,००० , २०,००० रुपैयाँ पुरस्कार प्रदान गरियो ।
सहभागी तथा विजेताहरूलाई कार्यक्रमका संयोजक ईश्वर वल्लव उप्रेती तथा जुरी टिमले सर्टिफिकेट तथा पुरस्कार प्रदान गरे ।