आइएफएससीमा सदस्यता पाएसंगैै उत्साही स्पोर्ट्स क्लाइम्बीङ एसोसिएसन

Manoj Shiama
9 March, 2020 6:37 am

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनले अन्तर्राष्ट्रिय महासङ्घ(आइएफएससी) बाट पूर्ण सदस्यता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्मादर्ता भएदेखि नै साहसिक तथा पर्यटकीय खेल स्पोर्ट क्लाइम्बिङको विकास, विस्तार र प्रवर्द्धनमा लागि परेको नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनले राष्ट्रिय स्तरमा पनि ११ वटा जिल्लामा सङ्गठन विस्तार गरिसकेको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

करिब १६ सय २१ जनाको स्पोर्ट क्लाइम्बिङ परिवार रहेको जानकारी दिँदै सङ्घका महासचिव मेघराज पौडेलले ‘स्पोर्ट क्लाइम्बिङ २०२० टोकियो ओलम्पिक र २०२४ को पेरिस ओलम्पिकमा पनि समावेश रहेको’ जानकारी दिए ।

‘नेपालमा पनि स्पोर्ट क्लाइम्बिङ खेलको विकास, विस्तार र प्रवर्द्धन गर्नका लागि सङ्घले राखेप, सरकार, अर्धसरकारी निकाय, कर्पोरेट हाउस एवम् निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी अघि बढ्ने छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सङ्घले वार्षिक क्यालेन्डर बनाएर खेल गतिविधि गरिरहेको छ ।’

जसमा दुई कार्यक्रम सम्पन्न भएको र पाँच वटा कार्यक्रम आगामी डिसेम्बरसम्म गर्ने सङ्घले बताएको छ। यस्तै, प्राविधिक तालिम, खेलाडी तालिम, जुरी प्रशिक्षणसमेत गर्ने महासचिव पौडेलले जानकारी दिए।

‘खेलको विकासका लागि स्कुल तथा कलेजहरूमा पनि स्पोर्ट क्लाइम्बिङ शिक्षक तथा प्रशिक्षकको व्यवस्था गर्ने सङ्घको लक्ष्य’ रहेको उनले जानकारी दिए ।

‘अहिलेसम्म १० वटा वाल हामीसँग उपलब्ध छन्,’ उनले भने, ‘अन्तर्रा्ष्ट्रियस्तरका नभए पनि क्लाइम्बिङ वाल ३ वटा छन्। आगामी तीनदेखि चार महिनासम्म हामी थप दुई वाल निर्माण गर्दैछौं ।’
स्पोर्ट क्लाइम्बिङ अन्तर्राष्ट्रिय महासङ्घको ५ महादेशबाट ९१ देशमा राष्ट्रिय सङ्घ छन्। जसमध्ये, अफ्रिकामा ६, एसियामा २४, युरोपमा ४३, ओसियानामा ४ र पान अमेरिकामा १६ वटा राष्ट्रिय सङ्घ छन् ।