गर्भवती समेत रहेकी चन्द्रकला माथि हमला
सोमबार राति नै उनीहरू कुटपिटबारे जानकारी गराउन चारआलीस्थित प्रहरी चौकीमा गए । प्रहरीले दुवै पक्षलाई मिल्न भनेको थियो । राति १२ बजेपछि छटपटाउन थालिन् । र, उनलाई मध्यरातमा स्थानीय मनकामना अस्पताल पुर्याइयो । ‘कुटपिट गर्नेबित्तिकै त खासै केही भनिनन् । राति १२ बजे सुत्नै नसकेर छटपटाइन् । हतार–हतार नजिकैको अस्पताल लगेँ । त्यहाँ ठीक नभएपछि यहाँ (बिएन्डसी) ल्याएका हौँ,’ सुमनले भने, ‘उनी (चन्द्रकला)चाहिँ ठीकै छिन् । तर, पेटको बच्चालाई असर परेका कारण रेस्ट गर्नुपर्ने डाक्टरले बताएका छन् ।’
जति कुटाइ खाए पनि जातीय विभेदविरुद्ध आवाज उठाइरहने चन्द्रकला बताउँछिन् ।
चन्द्रकला नेपाल प्रहरीको एथ्लेटिक्स खेलाडी हुन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । कोरोना महामारीका कारण चैतमा देशव्यापी लकडाउन भएसँगै पुलिस क्लबमा आबद्ध खेलाडीले पनि बिदा पाए । गर्भवती रहेकी उनी लकडाउन पछि घर गएकी हुन् । नौ महिनाअघि विवाह गरेकी चन्द्रकलाका श्रीमान् सुमनको कुनै रोजगारी थिएन । चन्द्रकलाको कमाइले परिवार पाल्न धौ–धौ थियो । काठमाडौंको महँगी थेग्न नसकेपछि सुमनले जुत्ता पसलमा काम थालेका थिए । तर, लकडाउनले उनी कामविहीन भए । ‘काठमाडौंमा त बस्न सक्ने अवस्था नै भएन । उनको (चन्द्रकला) पनि बिदा भयो । दुई जिउकी पनि भइन् । झापा जाँदा सहज हुन्छ भनेर यहाँ आएका हौँ,’ सुमनले भने । झापा आएर सुमनले चारआलीमा गुम्तीमा चिया पसल खोले । चन्द्रकलाले पनि त्यहीँ सहयोग गर्छिन् । सोमबार राति पनि गुम्तीमै खाना खाइरहेकी उनीमाथि आक्रमण भएको थियो । ‘अहिलेसम्म कति गेम खेलेँ, कहिल्यै जिउ दुखेको थिएन । उनीहरूको कुटाइले जिउ छुनै भएको छैन,’ चन्द्रकलाले भनिन्, ‘अहिले त उभिन पनि सक्दिनँ ।’
कुटपिट गर्नेविरुद्ध उजुरी
जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले श्रेष्ठ दम्पती पक्राउ परेको जानकारी दिए ।
डिएसपी थापाका अनुसार जिल्ला अदालत झापाबाट पाँच दिन म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ । मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियारको अगुवाइमा चन्द्रकलाका श्रीमान् सुमनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । ‘त्यो परिवारले बारम्बार जातीय विभेद गरेको गुनासो आइरहेको थियो,’ परियारले भनिन्, ‘जातीय विभेद सहेर बस्नुहुँदैन भनेरै हामीले मुद्दा दर्ता गर्न लगाएका हौँ ।’
घटनामा संलग्नलाई कारबाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् । जातीय विभेदका घटनामा कारबाही भएको नजिर बसाउन सके त्यस्ता घटनामा कमी आउने दलित अधिकारकर्मी हुकुमसिंह नेपाली बताउँछन् । ‘ती मान्छे पहिलादेखि नै पैसाको अहंकार देखाउने उद्दण्ड रहेछन् । दलितलाई देख्नेबित्तिकै कोरोना ल्याइस् भन्ने गर्दै हीनताबोध गराउँदा रहेछन्,’ नेपाली भन्छन्, ‘दलितलाई दमनै गर्ने हो, पुर्खादेखि दमन नै गरेको हो भन्ने मनस्थितिले यो घटना गराएका हुन् । समाजमा सबै खाले विभेद अन्त्य गर्न घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्छ । हामीलाई मिल्न दबाब आएको छ, तर पछि हट्दैनौँ ।’