कहिल्यै मेटिँदैन प्रेमको तेक्वान्दो लगाव
उनको मन र मुटु त तेक्वान्दोमै अल्झिएको थियो । तर, के गर्नु ? अन्य सामान्य नेपाली झैँ उनको जीवनलाई पनि साग र डुकुको जोहो गर्ने समस्याले थिच्न थाल्यो । बाबुको निधन पछि आफैमा थपिएको बोझ पनि । यसै बिच साउदी अरेबिया हानिएका प्रेम दर्नालले अन्ततः तेक्वान्दो खेल्ने रहरलाई सिकागो ओपन भर्चुअल पुम्सेमा उजागर गरे र जिते कांस्य पदक ।
सर्लाही बरहथवाका प्रेम ५० को दशकको सुरुवातमा १५ वर्षे चञ्चले उमेरमै कुशल मार्सल आर्टिस्ट चाहनाले काठमाडौँ हानिएका थिए । आफ्नै कमाइले केही गर्नु पर्ने । अन्यलाई बोझ दिन नहुने उनको आदत । हात्तिगौडामा दिदी रमा परियार र भिनाजुको टेलर थियो ।त्यहीँबाट सिलाइको काममा पारङ्गत भएका उनी दशरथ रङ्गशाला परिसरको केन्द्रीय तेक्वान्दो प्रशिक्षण केन्द्रमा पुगे । श्रीकृष्ण श्रेष्ठ,बद्री घिमिरे,चन्द्र तामाङ,धिरेन्द्र शाही र नोर्बु लामा लगायतले उनलाई सुरुवाती दिनमा प्रशिक्षण गराएका थिए ।
बाबु हर्ष बहादुर दर्नाल बिरामी भए पछि उनी ०५३ मा फेरी र्लाही फर्किएर बरहथवा तेक्वान्दो डोजाङ्गमा चेत बहादुर ठकुरी सँग प्रशिक्षण लिन थाले । त्यही उनले प्रशिक्षण गर्न थाले । ०५५ मा उनी ब्ल्याक बेल्ट बाँध्न सफल भए । ०५७ मा उनका बाबु पनि यस संसारबाट बिदा लिए । उनलाई एका तीर तेक्वान्दोको मोह र एका तीर आर्थिक बोझ । यसैबिच, उनी हानिए साउदी अरेबिया । त्यहाँ उनी १० वर्ष देखि गाडी चलाउने काम गर्छन् । अर्थात्, उनी सेल्स ड्राइभर हुन् । मेहनती छन् । तर उनलाई तेक्वान्दोको मोहले छाडेन ।
उनले किक हानेको फोटो मकाउमा रहेका भान्जा सञ्जीव नेपालीले देखे । भान्जाले पनि उनलाई अमेरिकामा भएको सिकागो ओपनमा सहभागी हुन प्रेमलाई प्रेरित गरे उनले पनि युट्युबमा हेरेर प्रशिक्षण गरे । नभन्दै पदक पनि जिते । यसले उनलाई एक खालको उत्साह थपेको छ ।
उनी अझ थुप्रै प्रतियोगिता खेल्न चाहन्छन् । यसै जोसको कारण नेपाल फर्किए पछि नयाँ पुस्ताका तेक्वान्दो खेलाडीलाई सहयोग र सहकार्य गर्ने तथा खेलाडी उत्पादनमा सक्रिय रहने उनको चाहना त छदै छ ।
पारिवारिक जिन्दगी व्यवस्थित छ । आम नेपालीको परिप्रेक्ष्यमा उनी सम्पन्न नै छन् । दुई छोरी हुर्की सके । जेठी त ११ कक्षाकी विद्यार्थी हुन् । एक छोरा मात्र हुर्काउन लामो समय लाग्ने । पारिवारिक बोझले थिच्न छाडेको पनि उनलाई महसुस हुँदै छ । अब सुखको दिन त सुरु हुँदै छ । परन्तु, तेक्वान्दो प्रतिको बाल्यकाल देखिको त्यो लगावलाई मूर्त रूप दिन अझ सक्रिय हुने उनको सोच छ ।