पोखरा म्याराथन फागुन १ गते, महिला हाफ म्याराथन समेत हुने

Manoj Shiama
11 January, 2021 6:31 pm
 नेपाली अग्रज खेलाडीहरूको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ ।
सो बारे जानकारी दिन मञ्चद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२।१९५ किलोमिटरको म्याराथन सँगै यो संस्करणबाट महिलाहरूको हाफ म्याराथन ९२१ किलोमिटर० समेत हुने भएको हो । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद सहरको रूपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए । उनले भने–“म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरूप विश्वमा परिचय गराउन यसको भूमिका रहेको छ ।”
कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला पुरुष, ५ किलोमिटर छात्रछात्रा तथा दृष्टि विहीनहरूको दौड र अपाङ्गहरूको ह्वेल चियर दौड भने फरक–फरक मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन् । मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि बढेको बताउँदै उनले म्याराथन सँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरू तय गरेको बताए ।
पोखरा म्याराथन अन्तर्गत हुने दृष्टि विहीनहरूको दौड तथा अपाङ्गहरूको ह्वेल चियर दौड फागुन २२ गते, १० किमी महिला पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ । प्रतियोगिता अन्तर्गत ४२।१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशः नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै ह्वेल चियर महिला÷पुरुष तथा दृष्टिविहीन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडी क्रमशः नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन् भने १० किलोमिटर महिला पुरुष तर्फ विजेता खेलाडीले क्रमशः नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र÷छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
पोखराको प्रतिष्ठित औद्योगिक संस्था सफल दूधको मुख्य प्रायोजनमा हुने १५ औँ संस्करणको पोखरा म्याराथन सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैर आवासीय नेपाली सङ्घ युके, गैर आवासीय नेपाली सङ्घ हङकङ लगायत अन्य उद्योग तथा व्यवसायीले सहयोग गर्ने छन् भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने भएको मञ्चले जनाएको छ ।
पोखरा म्याराथन पोखरा रङ्गशालाबाट सुरु भएर पोखरा महानगरका १७ वटा वडाहरूका सडक मार्ग हुँदै पुनः पोखरा रङ्गशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिएका छन् । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सबै पोखरेलीहरूलाई आफ्नो परम्परागत भेष भूषा तथा बाजा गाजा सहित खेलाडीलाई घर आँगन र चोकहरूमा उभिएर स्वागत गर्न उनले आग्रह गरेका छन् ।
मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका उप–निर्देशक नीरज श्रेष्ठ मञ्चका सचिव कृष्ण तिमिल्सिनाले पोखरा म्याराथनलाई सदा झैँ सफल बनाउन आग्रह गरेका थिए ।