गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता
Manoj Shiama
15 January, 2021 7:08 pm

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।
प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले जानकारी दिए । उनले प्रतियोगिताको उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर प्रदान गरिने घोषणा पनि गरे । उत्कृष्ट पुरुष खेलाडीलाई आयोजकले मोटरसाइकल प्रदान गर्ने छ ।
प्रतियोगितालाई सफल बनाउन नगरप्रमुख बस्नेतको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका दौरान १३ औँ दक्षिण एसियाली खेलकुदमा बक्सिङका पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने नगर प्रमुख बस्नेतले जानकारी दिए ।