स्नुकरको पुनरागमन युगमा चक्र किसन स्मृति कोशेढुंगा बन्ने

चक्र लामा ,५० को दशकका स्टार स्नुकर खेलाडी । अनि किसन लामा स्नुकर प्रेमी । नेपाली स्नुकरका थुप्रै पानामा यी दुईको नाम स्वर्णिम अक्षरले लेखिएका छन् । समयको खेल या भाग्यको लेखा यी दुईले नै अल्पायुमै जीवन गुमाए पछि नेपाली स्नुकर शोकाकुल बनेको थियो । यी दुईको सम्झनामा शनिवार देखि बौद्ध नाथ डेभ्लपमेन्ट कमिटी तथा बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा चक्र लामा, किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । ५० को दशकमा चर्चित स्नुकर खेलाडी चक्रको सन् २०१३ को जनवरी १८ मा निधन भएको थियो ।
सन् १९९३ मा चक्र उच्च लयमा रहँदा सानमिगेल अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप जितेका थिए । संयोग नै मान्नु पर्छ की कुनै समय नेपालका राष्ट्रिय स्नुकर च्याम्पियन सरोज कुमार मुल्मीको नेतृत्वमा अहिले नेपाल विलियर्ड्स, स्नुकर तथा पुल सङ्घ रहेको छ । त्यसो त सोही समय देखि स्नकुरमा परिचित तथा काल्सबर्ग ओपन, सूर्य ओपन र सङ्कटा ओपन लगायत थुप्रै प्रतियोगिताका उपाधि विजेता राजन लामा सामाजिक रूपमा उत्तिकै सक्रिय छन् । तीनै राजन हाल यस प्रतियोगिता आयोजक कमिटीका संयोजक रहेका छन् । लामो समय देखि प्रतियोगिता आयोजनाका लागि चासो दिए पनि अहिले मेसो मिलेको तथा पूर्व स्नुकर खेलाडी नै सङ्घ अध्यक्ष भएका कारण वातावरण सहज भएको राजन बताउँछन् । त्यसो त राजनको च्याम्पियन सम्मको यात्रामा किसनको साथ , सरसहयोग , सद्भाव र हौसला सधैँ रहेको थियो । तीनै किसन अल्पायुमै दुर्घटना बस ज्यान गुमाउन पुगेका थिए । बौद्ध स्नुकर क्लबको स्थापना देखि त्यहाँको सामाजिक गतिविधिमा किसनको उत्तिकै सक्रिय भूमिका रहने गरेको थियो । यस प्रतियोगिताका थुप्रै विशेषता रहेका छन् । २५६ खेलाडीकै सहभागिता रहने छ । कोभिडको महामारी र सवैतर्फ समस्याले थिचिरहेको समयमा यो सहभागिता त्यत्तिकै उल्लेख्य भएको राज बताउँछन् ।
त्यसो त सङ्घ अध्यक्ष मुल्मी पनि २५६ सहभागिताका प्रयास धेरै पटक भए पनि यो प्रतियोगिताले त्यो कोशेढुंगा पार गरेको र नेपाली स्नकुर लोकप्रियताको नयाँ उचाइमा पुगेको पुष्टि भएको बताउँछन् । यसै प्रतियोगितामा क्लबहरूको चासो यत्ति सम्म रह्यो की अब स्नकुर खेलाडी पनि राम्रो रकममा सम्झौता गर्दै जीवन यापनको बाटो सहज भइसकेको छ । यस प्रतियोगिताका उपाधि विजेताले २११५०० तथा उपविजेताले ९१५०० रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी, सेमिफाइनल प्रवेश गर्ने दुवैले ३०५०० तथा क्वार्टर फाइनल प्रवेश गर्ने प्रत्येकले १०५०० रुपैयाँ पाउने छन् । अन्तिम १६ मा स्थान पाउने प्रत्येकले क्यु तथा क्यु बक्स उपहार पाउने छन् । प्रतियोगिताको आकर्षण १४७ ब्रेक गरेमा १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेक गर्नेलाई २लाख १ हजार, तथा हाइएस्ट ब्रेक गर्नेलाई २१५०० रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी,उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११५०० रुपैयाँ पुरस्कार प्रदान गरिने छ । २८ दिने प्रतियोगितामा मोफसलका खेलाडीलाई आवासको व्यवस्था आयोजकले गर्ने छ । प्रतियोगितामा ५०भन्दा बढी जिल्लाका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता आयोजनामा राजनका साथै विष्णु लामा, धरमवीर ब्लोन,बलवीर लामा,राजेश पाण्डे, रुद्र श्रेष्ठ तथा सुजन लामाको भूमिका महत्त्वपूर्ण रहने छ । प्रतियोगिता सफलताका लागि लगातार सक्रिय रहने टिमकै कारण यो सम्भव भएको राजनको मत छ । अजिमा स्नुकर हाउसमा आयोजना हुने प्रतियोगिताले नेपाली स्नुकरमा एउटा आयाम थपेको मात्र नभई स्नुकर पुनरागमन युगमा नयाँ आयाम भएको राजनको मत छ ।
लामो समय सुस्त रहेको नेपाल स्नुकर सरोजको नेतृत्वमा रहे पछि एकाएक जागेको हो । आइबीएसएफ विश्व स्नुकरमा सिक्थ रेट तथा टिम च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाल पहिलो प्रयासमै अन्तिम ४२ मा पर्न सफल भएको थियो । यसै गरी नेपालले बङ्गलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय स्नकुर च्याम्पियन सीप तथा यु–१९ एसियन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो ।त्यसो त नेपालमा महिला स्नुकर खेलाडीको विकास गर्ने सोचमा साथ नयाँ योजना सङ्घले बनाइरहेको छ  । महिला क्लब समेत गठन गर्ने सङ्घ नेतृत्व गर्ने सोच छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रतियोगितामा सहभागिता जनाए पछि स्नुकर घरेलु भूमिमा पनि लोकप्रियताको नयाँ उचाइमा पुगेको छ । त्यसमा यो प्रतियोगिता एउटा कोशेढुंगा भएर बस्ने छ ।
Comment