बादल पक्षीय खेलकुद महासङ्घले पायो पूर्णता
अखिल नेपाल खेलकुद महासङ्घले पूर्णता पाएको छ । कालीबहादुर घर्ती मगरको संयोजकत्वमा यसअघि नै पुनर्गठन गरिएको महासङ्घको एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो ।
संयोजक घर्ती मगर पूर्वमाओवादी निकट अखिल नेपाल खेलकुद महासङ्घका महासचिव हुन् । नेकपा विभाजनमा गृहमन्त्री थापाले प्रचण्ड पक्षलाई छाडेसँगै खेलकुद महासङ्घ पनि पुनर्गठन भएको हो । गृहमन्त्री बादलले गत २८ पुसमा ललितपुरमा भएको बृहत् राष्ट्रिय भेलामार्फत घर्ती मगरको संयोजकत्वमा आफ्नो पक्षको खेलकुद महासङ्घ पुनर्गठन गरिएको घोषणा गरेका थिए ।
त्यस बेला संयोजकसहित ९९ केन्द्रीय सदस्यहरूको घोषणा गरिएको थियो । बुधवार भएको महासङ्घको केन्द्रीय समितिको दोस्रो बैठकले थप ५२ जना केन्द्रीय सदस्य थप गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो । यस्तै, बैठकले केही समितिको गठनसँगै जिम्मेवारी पनि तोकेको छ ।
बैठकले ९ सदस्यीय कार्यालय टिम र४५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । कार्यालय टिममा संयोजक घर्ती मगर सहित ध्वजमान मोक्तान, घनश्याम भट्ट, गणेश कक्षपती, प्रनिर अधिकारी, राजीव महर्जन, विशाल लामा, वसन्त लामा र सुस्मिता गुरुङ रहेका छन् ।
यस्तै, बैठकले प्रदेश संयोजक र इन्चार्ज पनि तोकेको छ । प्रदेश एकमा चूडामणि खरेल इन्चार्ज र कमल अधिकारीलाई संयोजक तोकिएका छन् । प्रदेश दुईमा ध्वजमान इन्चार्ज र सन्दीपकुमार सिंह संयोजक, बाग्मती प्रदेशमा गणेश कक्षपती इन्चार्ज र वसन्त लामा संयोजक, गण्डकी प्रदेशमा तारामाया थापा इन्चार्ज र दिनेश रोका मगरले संयोजकको जिम्मेवारी पाएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको इन्चार्ज जिम्मेवारी घनश्याम भट्टलाई दिइएको छ । सुदूरपश्चिमको संयोजकमा जगत सिंह धामी र कर्णालीको संयोजकमा धनञ्जय कठायत रहेका छन् । लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रनिर अधिकारी र संयोजकको जिम्मेवारी सुवास परियारले पाएका छन् ।