कला बोहरा स्मृति राष्ट्रिय टेबलटेनिस यसै महिना
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिता फागुन २२ गतेदेखि हुने भएको ।
उक्त प्रतियोगिता नेपाली टेबलटेनिसको इतिहासमै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको आयोजकका अध्यक्ष चतुरानन्द राजवैद्यले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको छ ।
पुरुष÷महिला सिंगल्स र जुनियर पुरुष÷महिला गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । चारै विधामा मिलाएर करिब २ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
पुरुष÷महिला सिंगल्समा शीर्ष १६ वरीयताका खेलाडीले सोझै प्रतियोगितामा सहभागिता हुन पाउने प्रावधान छ । मुख्य प्रतियोगिताअघि फागुन १९ र २० गते हुने छनोट चरणमा शीर्ष ४ स्थानमा आउने पुरुष÷महिला खेलाडीलाई १६ वरीयताका खेलाडीसंग समावेश गराई लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । शीर्ष १६ र छनोटमा शीर्ष ४ मा आउनेसहित २० खेलाडीलाई दुई समूहमा विभाजन गरिने छ । दुवै समूहको खेल राउन्ड रविन लिगका आधारमा हुनेछ । प्रत्येक समूहमा शीर्ष ८–८ स्थान प्राप्त गर्ने खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाउने छन् । त्यस्तै चौथोदेखि आठौं हुनेले क्रमशः ५ हजार, ४ हजार, ३ हजार ५ सय, ३ हजार र २ हजार ५ सयका दरले नगद हात पार्नेछन् ।
जुनियरको लिग कम नकआउट आधारमा खेल हुने उपाध्यक्ष वज्राचार्यले जानकारी गराए । पहिलोदेखि आठौंसम्ममा प्रतियोगिता टुंग्याउनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार, ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय र २ हजार नगद जित्नेछन् । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन २७ गतेसम्म चल्नेछ ।