राजदूत सुकको स्वागत
नेपाल तेक्वान्दो सङ्घले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकको सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना ग¥यो ।
सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो सङ्घका पदाधिकारीले खादा र पुष्प गुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए । तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शमशेर राणाले सुकलाई प्रशंसा पत्र प्रदान गरे भने महासचिव दीपराज गुरुङले माया चिनो प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुकले नेपालमा तेक्वान्दो खेल निकै लोकप्रिय रहेको र खेलाडी सङ्ख्या पनि उल्लेख्य रहेको आफूलाई जानकारी भएको धारणा व्यक्त गरे । उनले नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाई दिँदै अब टोकियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
अध्यक्ष राणाले नेपाली तेक्वान्दोको विकासमा कोरियाली सरकारको महत्त्वपूर्ण रहँदै आएको स्मरण गर्दै सुकको कार्यकालमा सहयोगले अझ व्यापकता पाउने विश्वास व्यक्त गरे । सो अवसरमा एनटीए डेमो टिमले आकर्षक प्रस्तुति प्रदर्शन गरेका थिए ।