गृह जिल्लामा ज्ञानीको सम्मान
नेपाली तेक्वान्दोमा लामो समय पकड जमाएकी तथा विगत एक दशक देखि घरेलु एरेनामा अपराजित रहेकी ज्ञानी चुनारा गृह जिल्लामा सम्मानित भएकी छिन् । सुर्खेतमा भएको तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समापनको अवसरमा उनलाई सम्मानित गरिएको हो ।
प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले उनलाई सम्मानित गरे । सम्मान कार्यक्रममा वरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन बिक र तेक्वान्दो मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
ज्ञानीलाई लामो समय राष्ट्रिय टोली र नेपाल आर्मी क्लबमा प्रशिक्षण प्रदान गरेकी ओलम्पयन सँगिना वैद्य तथा प्रशिक्षक नोर्बु लामाको पनि सो कार्यक्रममा उपस्थिति थियो ।नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर राणाको पनि कार्यक्रममा उपस्थिति थियो ।
राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा प्रतियोगिता आयोजक कमिटीकी संयोजक नन्दा बस्यालको सभापतित्वमा भएको कार्यक्रममा कार्यकारी सदस्य एकेन्द्र कुँवर र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुवास श्रेष्ठ तथा कर्णाली प्रदेश खेलकुद सङ्घका सदस्य सचिव विश्वामित्र सन्जेलको पनि उपस्थिति थियो । कार्यक्रममा कुँवर पनि सम्मानित भए । यसै गरी, कोभिड महामारीको मारमा परेका तेक्वान्दो खेलाडीलाई सहयोग गरेका अर्जुन गोतामे पनि सम्मानित भए ।