खेल देखि व्यवसायसम्म


कविराज माली, बाग्मती प्रदेश तेक्वान्दो सङ्घका सदस्य तथा  राष्ट्रिय निर्णायक । तेक्वान्दोमा आबद्धता १६ वर्ष भएको छ । खेलाडी र निर्णायकका साथै प्रशिक्षणमा समेत  सक्रिय कबिको नागदह तेक्वान्दो डोजोमा अहिले ४५ जना खेलाडी नियमित प्रशिक्षण गरिरहेका छन् ।
गत वर्ष देखि देखिएको कोरोना महामारीका कारण जसरी संसारका अन्य सबै क्षेत्रलाई प्रभाव पारेको छ त्यसै गरी, खेल जीवनलाई पनि पारेको छ । यो महामारी सुरु हुनु अगाडी भएका थुप्रै खेलाडी त अझै प्रशिक्षण गर्न सुरु गरेका छैनन् ।
टिभी हेर्दा हेर्दै रहर नै रहरमा उनी तेक्वान्दो खेलमा प्रभावित भएका हुन् । प्रकाश मर्हजनसंग तेक्वान्दो सिकेका उनी बि.स २०६५ मा ब्ल्याबेल्ट पाउन सफल भएका थिए । हाल उनी चौथो डान हुन्।बि.स २०७० मा त उनले रेफ्रि कोर्स पनि गरे ।
तेक्वान्दो सिक्न अहिलेका जस्तो सजिलो थिएन । तेक्वान्दो खेल्दा छोराले बाटो बिराउने हो की भन्ने चिन्ता र सोच घरमा नभएको होइन । यसलाई पार गर्दै उनी खेलमा सक्रिय भएका थिए । ती दिनहरू उनका मनमा अझै ताजै छन् । यसै कारण उनी खेलाडीलाई सहयोग गर्न तत्पर रही रहेका हुने छन् ।
अहिलेको जस्तो धेरै प्रतियोगिता हुने थिएनन् । यसका बाबजुद उनले जिल्ला स्तरीय प्रतियोगिता खेले भने बैंककमा भएको उक आमन्त्रण प्रतियोगितामा सहभागिता जनाएका थिए ।
नेपालमा तेक्वान्दो सङ्घ सङ्घीय स्वरूपमा प्रवेश गएको धेरै भएको छ । दुई वर्ष अघि तेक्वान्दोको प्रदेश सङ्घ गठन भयो । यो सँगै प्रदेश सङ्घ पनि कबिको सक्रियता र लगावले उत्साहित बनेको थियो । यसै कारण उनी प्रदेश सङ्घको सदस्य बनी हाले ।
नेपाली तेक्वान्दोको क्षेत्र फराकिलो छ । साथै त्यत्तिकै प्रतिस्पर्धात्मक पनि । हाल निर्माण व्यवसायका साथै तेक्वान्दो खेललाई सँगै अघि बढाएका उनका लागि  प्रदेश सङ्घको सदस्य एउटा अवसर र चुनौती दुवै हो । यसै अवसरलाई उपयोग गर्दै यस खेलको विकास र विस्तारमा उनी सक्रिय रहेका छन् ।
उनले डोजाङ स्थापना गरेको पनि धेरै भएको छैन । बि.स २०७१ मा स्थापित उनको डोजाङबाट १२ जना ब्लयाकबेल्ट उत्पादन भएका छन् । ललितपुर जिल्ला स्तरीय प्रतियोगितामा उनका खेलाडीले राम्रो नतिजा पनि पाएका छन् । यसलाई निरन्तरता दिँदै अझ थप खेलाडी उत्पादन गर्ने कुरामा प्रतिबद्ध छन् ।
उनको नेतृत्वमा नागदह तेक्वान्दो डोजाङले केही राष्ट्रिय स्तरका तेक्वान्दो प्रतियोगिता पनि आयोजना गरी सकेको छ । यस क्रमलाई अगाडि बढाउँदै अझ विशाल स्वरूपको प्रतियोगिता आयोजना गर्ने सेकेन्ड क्लास रेफ्रि समेत रहेको उनको योजना छ ।
नेपाली खेलकुदमा तेक्वान्दोको आफ्नै गरिमा र साख छ । उनलाई आशा छ, उनको प्रशिक्षणमा रहेको नागदह डोजाङका खेलाडीले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा राम्रो परिणाम प्राप्त गर्ने दिन आउने छ । बाग्मती प्रदेश सङ्घका कान्छा सदस्य उनी यस खेलमा रहेको लगाव र निरन्तरताले परिचित तेक्वान्दोकर्मीको रूपमा स्थापित हुने धेरैको ठहर छ ।

Comment