एफसी चितवनको जर्सी र प्रायोजकहरू सार्वजनिक

खुकुरी नेपाल सुपर लीग (एनएसएल) को पूर्व सन्ध्यामा एफसी चितवनले जर्सी र प्रायोजक सार्वजनिक गरेको छ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिको स्वामित्तत्वमा रहेको एफसी चितवन टिमले शनिवार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेर  यसको सार्वजनिक गरेको हो । एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रबन्धक कृत राज महर्जनले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे ।
 एफसी चितवनका खेलाडी तथा सम्बद्ध अन्यले लि–निङ्ग ब्रान्डका पोसाक पहिरने छन् । डीस होम फाइबर नेट मुख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् ।
उक्त कार्यक्रममा गेम अन प्रा.लि एवम् एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, जर्सीका प्रायोजक लि–निङ्ग नेपालका प्रबन्धक कृत राज महर्जन, एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज के.सी, मार्की प्लेयर भरत खवास, टिम म्यानेजर रूपेश अधिकारी  र आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले सम्बोधन गरे ।
जर्सी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन् लागेको यस प्रतियोगितामा एफसी चितवनले हाम्रो सपनालाई साकार पार्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको यस्तो प्रतियोगिता नेपालमा पहिलो पटक गर्न हुन लागेको बताउँदै प्रबन्ध निर्देशक ढकालले प्रतियोगितापछि नेपाली फुटबलको नयाँ कोर्स सुरु हुने जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यावसायिक फुटबलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटबल खेलको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गेम अन प्रा.लि एवं एफसी चितवनसँग आबद्ध संस्था आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले यो प्रतियोगिता आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुन लागको जानकारी दिँदै एफसी चितवन टिमलाई सफलताको शुभकामना दिए ।
गेम अन प्रा.लि बारे
गेम अन प्रा.लि खेल र खेलकुदको क्षेत्रलाई प्रवर्द्धन एवम् व्यवस्थापन गर्ने उद्देश्यले स्थापित एक कम्पनी हो । आइएमई फाउन्डेसनसँग सम्बन्धित यस कम्पनीले खेलकुद क्षेत्रलाई संस्थागत गर्न खेलाडीहरूको सीप विकास गर्ने र व्यावसायिकता बढाउनका लागि काम गर्दै आइरहेको छ । खेलकुद विशेषतः फुटबलमा गहिरो अभिरुचि राख्दै आएका युवा उद्यमी सचिन ढकालले यो कम्पनीलाई नेतृत्व प्रदान गर्दै आइरहेका छन् । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।
Comment