इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन
Manoj Shiama
18 August, 2021 9:54 am
गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, पानी पोखरी, काठमाडौँस्थित कार्यालयमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलवार बिहान आयोजित एक कार्यक्रमबिच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तोलन गरे । उक्त अवसरमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।
कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुग्ने विश्वासका साथ आफूले प्रयास गरिरहेको बताए ।
उनले दुई देशबिचको आपसी व्यापार तथा अनुभव आदान प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनु पर्ने कुरामा जोड दिए ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्र मध्य सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश हो । नेपाल र इन्डोनेसियाबिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । दुई देश बिच पर्यटन लगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।
झन्डोत्तोलन कार्यक्रममा वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।