रोशन र बुद्धलाई स्वर्ण

Manoj Shiama
12 September, 2021 7:37 pm
मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरिका सन्दीप राई दोस्रो भए । सोही स्पर्धाको महिलामा नरहरिपुरकी सन्जु देशारले स्वर्ण तथा प्रयाग पोखरीकी सुभद्रा थापाले रजत जिते ।
पुरुष ३० केजीमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामा, ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले इचङ्गुनारायणका सेभेन श्रेष्ठ तथा ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे ।
शंखधर डोजो, थिमीद्वारा आयोजित प्रतियोगिताको महिला ३० केजी फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभूकी प्रमीला पाख्रिनलाई पन्छ्याउँदै शीर्ष स्थान कब्जा गरिन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबिच उद्घाटन गरे । सो अवसरमा राखेप एवं कार्यकारी समितिका सदस्य द्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य सुभाष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ४ सय ७४ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराँतेका मन्डेकाजी श्रेष्ठले जनाएका छन् । कराँते र किक बक्सिङका ४ उत्कृष्ट खेलाडीले माउन्टेन बाइक पुरस्कार स्वरूप प्राप्त गर्ने छन् । बोडेमा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।
उद्घाटनका अवसरमा मध्यपुर थिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ, आठौँ र नवौँ सागका स्वर्णधारी कराँतेका दीपक श्रेष्ठ, सागका ४ स्वर्ण पदक विजेता तेक्वान्दोका दीपक विष्ट, रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली लगायतलाई सम्मान गरिएको थियो ।