सनिललाई सफलता
ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे ।
यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपीएफका पूरण राई, ६३ केजीमा १३ औँ सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ केजीमा एपीएफका विकास लामा आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।
विश्व च्याम्पियनसिपका लागि बक्सिङ सङ्घले गठन गरेको छनोट समितिले यी पाँच मध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जनाएका छन् । विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म सञ्चालन हुने छ ।