थप जिम्मेवारीले उत्साहित रोजीत र ललित

६० को दशकका प्रतिभाशाली मिडफील्डर रोजीत केसीको सफलता अहिले चुलिँदै छ  । उज्बेकिस्तानको तास कन्दमा आयोजना हुने यु–२३  एसियन कप फुटबल छनोटका लागि रोजीत सहित गोलरक्षक प्रशिक्षक ललित चन्दले पहिलो पटक महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।
युवा खेलाडी उत्पादनमा सक्रिय रोजीत अहिले पाएको सहायक प्रशिक्षकको जिम्मेवारीले उत्साहित छन् । बाल गोपाल महर्जनको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा अहिले रोजीत सहायक प्रशिक्षक तथा ललित चन्द गोलरक्षक प्रशिक्षक छन् । ललित पनि ५० को दशकमा चर्चित गोलरक्षक थिए । उनी फ्रेन्ड्स क्लबमा आबद्ध थिए ।
२५ देखि ३१  अक्टोबरसम्म आयोजना हुने सो छनोट प्रतियोगितामा नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्ने छ ।
सात जना राष्ट्रिय टोलीका खेलाडी सहितको टोलीबाट राम्रो प्रदर्शनको आशा गरेको  रोजीत बताउँछन् । राष्ट्रिय टोलीका आयुष घलान,गौतम श्रेष्ठ,सुमन अर्याल, मनीष डाँगी, नितिन थापा र सुरज जित ठकुरी यु–२३ टोलीमा पनि छन् ।
प्रशिक्षण टोलीमा अटाएका रोजीत सर्लाही जिल्लामा  रहेका प्रशिक्षक हुन् । उनका एकसे एक उत्पादन एन्फा एकेडेमीमा रहेका छन् ।
Comment