“पूर्वाधार निर्माण गरी खेलकुदको विकास गर्ने” −मन्त्री राजीव गुरुङ
Manoj Shiama
7 October, 2021 9:42 pm

गण्डकी प्रदेशभित्रका गाउँमा खेलकुदका भौतिक पूर्वाधार खेलमैदान निर्माण गरी खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकास गर्ने मन्त्री गुरुङले बताएका छन् ।
युनाइटेड यूथ क्लब रिसान थालाजुङ्ग गोर्खाको आयोजनामा शुभकामना आदान प्रदान तथा खुल्ला फुटबल प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गाउँ गाउँमा खेलमैदानका पूर्वाधार निर्माण गरी खेलकुदको विकास गर्न आफ्नो लक्ष्य रहेको जनाएका छन् । मन्त्रालयले सबै विधाका खेलाडीलाई प्रोत्साहन गर्ने काम भएकोले अब हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउने मन्त्री गुरुङले विश्वास व्यक्त गरेका छन् ।
खेलाडीहरूले उच्च मनोबलका साथ खेलकुद प्रशिक्षण निरन्तर गरे मात्र सफल हुने कुरामा उनले जोड दिए । कार्यक्रममा मन्त्री गुरुङले प्रदेशका सम्पूर्ण गाउँमा रहेका खेलमैदानको अवस्था निरीक्षण गरी भौतिक पूर्वाधार भत्केका बिग्रेका र अहिलेसम्म प्रयोगमा आउन नसकेका खेलमैदानको पुन निर्माण गर्ने जनाए । राम्रो खेलमैदान भएपछि खेलाडीलाई प्रोत्साहन हुने हुँदा खेलाडीले राम्रो नतिजा ल्याउने बताएका छन् ।

कार्यक्रममा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्य अन्तरगत मन्त्री गुरुङले प्रतियोगिता बाट उत्कृष्ट हुने खेलाडीलाई नगद रु ५ हजार दिने घोषणा समेत गरेका छन् ।
कार्यक्रममा मन्त्री गुरुङले खेलका लागि आवश्यक पर्ने खेलकुद सामाग्रीहरू गोर्खा जिल्लाका विभिन्न क्लबका अध्यक्ष तथा खेलाडीलाई वितरण गरेका थिए । यसरी वितरण भएका खेलकुद सामाग्रीहरूमा फुटबल, भलिबल,नेट जाली लगायतका सामाग्री रहेका छन् ।
२६ गते सम्म चल्ने फुटबल प्रतियोगितामा चितवन,काठमाडौँ, लमजुङ, तनहुँ लगायतका जिल्ला बाट २१ टिम को सहभागिता रहेको युनाइटेड यूथ क्लब रिसान थालाजुङ्गका अध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।