तीन वर्ष अघि जागेको नेपाली स्नुकर
राष्ट्रिय खेलकुद परिषद्ले पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड, स्नुकर तथा पुल सङ्घ पुनर्गठन गरेको तीन वर्ष हुन लागेको छ । अबको केही दिनमा मुल्मी नेतृत्वले तेस्रो वर्ष पुरा गर्दै चौथो वर्ष प्रवेश गर्ने छ ।
यस बिचमा नेपाली स्नुकर नयाँ युगमा प्रवेश गरेको आभास भएको छ । प्रतियोगिता सञ्चालन र विदेशी प्रतियोगितामा सहभागी दुई वटै पाटामा स्नुकर सङ्घ अग्रणी रहेको छ । मुल्मी नेतृत्वको केही समय पछि नै नेपालले विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको थियो ।
पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालको खेल राम्रो भए पनि यस खाले बोर्डमा प्राक्टिस नभएका कारण समस्या भएको अध्यक्ष मुल्मीले बताएका थिए ।
यसै गरी, यसै वर्षको सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको एसियाली च्याम्पियनसिपमा नेपालको प्रदर्शन उत्कृष्ट रहेको थियो । सो प्रतियोगितामा नेपालका रेगन श्रेष्ठले प्रिक्वाटर फाइनलसम्मको यात्रा तय गरेका थिए । लिगमा रेगनले ४ खेल मध्ये ३ मा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने रेगन ४–० ले पछि परे ।
अन्तिम ३२ को प्रतिस्पर्धामा रेगनले कतारलाई ४–३ ले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । प्रिक्वाटरफाइनलमा भने उनी इरानका खेलाडीसँग ४–० ले रोकिएका थिए । सो प्रतियोगितामा रेगनले ८३ अङ्कको ब्रेक गर्दै ४२ खेलाडी सहभागी मध्ये ११ औँ स्थान हात पारे ।
यसै गरी थुप्रै प्रतियोगिता पनि यस बिचमा आयोजना भए । यी नै मध्य चक्र लामा र किसन लामाको बौद्ध नाथ डेभ्लपमेन्ट कमिटी तथा बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा सञ्चालित चक्र लामा, किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता त नेपालमा भएका मध्यको बृहत् प्रतियोगिता नै मानिन्छ ।
लामो समय सुस्त रहेको नेपाल स्नुकर सरोजको नेतृत्वमा रहे पछि एकाएक जागेकोमा धेरैको सहमति छ । आइबीएसएफ विश्व स्नुकरमा सिक्थ रेट तथा टिम च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाल पहिलो प्रयासमै अन्तिम ४२ मा पर्न सफल भएको थियो । यसै गरी नेपालले बङ्गलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय स्नुकर च्याम्पियन सीप तथा यु–१९ एसियन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । त्यसो त नेपालमा महिला स्नुकर खेलाडीको विकास गर्ने सोचमा साथ नयाँ योजना सङ्घले बनाइरहेको छ । महिला क्लब समेत गठन गर्ने सङ्घ नेतृत्व गर्ने सोच छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रतियोगितामा सहभागिता जनाए पछि स्नुकर घरेलु भूमिमा पनि लोकप्रियताको नयाँ उचाइमा पुगेको छ ।
धेरै स्नुकर खेलाडी सङ्घको यो नेतृत्वमा केही महत्त्वपूर्ण पाइला चालिनेमा आशावादी रहेका छन् ।