आर्मी टिम च्याम्पियन

Manoj Shiama
20 November, 2021 7:31 am


नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रवार स्वर्ण जितेकी छन् ।
प्रतियोगितामा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ । टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पुरुष तर्फ ८ स्वर्ण, ४ रजत तथा ३ कांस्य पदक जितेको हो । यसै गरी महिला तर्फ पनि पकड जमाउने क्रममा ४ स्वर्ण, ४रजत तथा दुई कांस्य पदक जितेको हो । नेपाल बक्सिङ सङ्घको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराँते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुषमा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे ।
पुरुष ४८ केजीमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी आर्मीका प्रेम चौधरीले भूपू बक्सिङका उपास गुरुङ, ५७ केजीमा एपीएफका पूरण राईले बक्समान्डुका सुरज महर्जन, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपीएफका सोनाम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउँदै स्वर्ण जिते ।
विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व मन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । प्रत्येक स्पर्धाका विजेतालाई ५ सय युरो, उपविजेतालाई ३ सय युरो र तेस्रोलाई २÷२ सय युरो नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन् ।