१२ लाख ५२ हजार पाएका सेवाग्राही जीवेश दाहाल भन्छन् “यो पैसा बाख्रा पालन विस्तारमा लगाउँछु”

Manoj Shiama
20 November, 2021 1:21 pm
आइएमईले २०७८ का ठुला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।
प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्रान्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपा श्री निरौलाले संयुक्त  रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैना पोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत एक लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरे । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए । उनको घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रूपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवर्द्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । ब्रान्ड एम्बासडरद्वय गिरि र निरौलाले लामो समयदेखि आइएमईसँग आबद्ध हुन पाउँदा आफूहरूलाई खुसी लागेको बताए ।
गत १ असोज देखि २६ कात्तिकसम्म ५७ दिनका लागि कायम रहेको उक्त सेवाग्राहीमुखी अफर अन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएका छन् । यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा २ सय रुपैयाँ तत्काल बोनसको व्यवस्था अन्तर्गत हजारौँ सेवाग्राहीहरू यसबाट लाभान्वित भएका छन्  ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको थियो । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिएको हो । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने प्रावधान राखिएको थियो । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अद्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।