हाप्किडो च्याम्पियनसिपको तयारी हुँदै
दाङ मार्सल आर्ट्स हाप्किडो एसोसिएसनको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो एसोसिएसनको सहकार्यमा घोषित पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको समय तालीका परिवर्तन भएको छ । यस अघि पुस महिनामा घोषित कार्यक्रम आगामी २२ देखि २८ माघसम्म हुने तय भएको छ ।
स्थापना काल देखि च्याम्पियनसिप, सेमिनार र प्रशिक्षण कार्यक्रममा सक्रिय एसोसिएसनको आयोजनामा हुन लागेको च्याम्पियनसिपको तयारी तीव्र गतिमा भई रहेको दाङ जिल्ला हाप्किडो एसोसिएसनका अध्यक्ष भुवन बुढा मगरले बताए । अध्यक्ष भुवन हाप्किडो खेलको गतिविधि अन्य खेलको तुलनामा पृथक् शैलीको भएको तथा यसले सामान्य नेपाली युवालाई समाजमा स्थापित गराउन ठुलो भूमिका निर्वाह गर्ने बताउँछन् ।
नेपाल मार्सल आर्ट्स हाप्किडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगर लगायत केन्द्रीय पदाधिकारी, प्रदेश सङ्घका पदाधिकारी प्रतियोगिताको तयारीका लागि दाङमा नै रहेका छन् । च्याम्पियनसिपमा विशेष अतिथिको रूपमा ग्रान्डमास्टर ही क्वान ली लगायत अन्य देशका ग्रान्डमास्टरको उपस्थिति रहने छ । सात दिने यस च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय स्तरको इन्सट्रक्टर हाप्किडो वर्कसप, रेफ्रि तथा जज सेमिनार हुँदै आएको छ ।
बृहत् महोत्सवका बिच आयोजना हुने प्रतियोगिताले दाङ लगायत लुम्बिनी प्रदेशका जिल्लाहरूमा हाप्किडोको प्रभाव अझ व्यापक हुने अध्यक्ष भुवनले बताए ।