राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन

Manoj Shiama
8 March, 2015 10:43 pm

taekwondo 4
नेपाल आर्मीले प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिताको उपाधि आइतबार जितेको छ । टिम च्याम्पियनको बनेको आर्मीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण व्यवस्थापन समितिद्वारा आयोजित प्रतियोगितामा विश्वविद्यालय ३ स्वर्ण र २ रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको पश्चिमाञ्चलले २ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो ।
प्रतियोतियोगिताको सिनियरमा ५३ केजीमा स्वर्ण जितेकी पश्चिमाञ्चलकी तारा जिसी र जुनियरमा ३० केजीमा पहिलो भएकी आर्मीकी सरिश्मा शाह उत्कृष्ट खेलाडी घोषित भए । दुवैलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरियो । नगद पुरस्कार अमेरिकामा बस्ने गणेश अर्याल र समाजसेवी कमला कार्कीले प्रायोजन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा आर्मीकी ज्ञानी चुनारा, ४६ केजीमा विश्वविद्यालयकी काजल श्रेष्ठ, ३७ केजीमा मध्यमाञ्चलकी उर्मिला तामाङ, ३४ केजीमा विश्वविद्यालयकी सविना नगरकोटी, ३२ केजीमा आर्मीकी योगमाया श्रेष्ठ तथा ४३ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ पहिलो भए ।
विजेतालाई द्धारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठ, नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जर्नाजन ढुंगेल, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र ४ विभागीय गरी ९ टिमका ९० खेलाडीले १० स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजककी अध्यक्ष एवं प्रतियोगिता संयोजक नन्दा बस्यालले जनाएकी छन् ।