स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार
Manoj Shiama
5 January, 2022 3:07 pm

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौँका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधवार नगद पुरस्कार प्रदान गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौँले मात्र ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।
व्यक्तिगत स्पर्धामा स्वीकार रजक, सुस्मिता मोक्तान र रञ्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि समान ५–५ हजार नगद पुरस्कार प्रदान गरियो ।

त्यस अवसरमा काठमाडौँ जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र पनि हस्तान्तरण गरेको छ । । संखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा शारदा धिमाल, बुढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौँमा राजेन्द्र पुजारी, नागार्जुनमा सरोज बास्कोटा, चन्द्रागिरिमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दश रत्न शाहीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेको २५ थान कुर्सी पनि काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घलाई हस्तान्तरण गरिएको थियो ।
