अशोक अब सेकेन्ड क्लास रेफ्रि
तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।
तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्समा सहभागिता जनाइ प्राप्त गरेको अङ्कका आधारमा अशोक एक तह माथि उक्लेका हुन् । तेस्रोबाट दोस्रोमा उक्लन कम्तीमा ८ अङ्क आवश्यक पर्दछ । करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्स (एक अनलाइनसहित) मा सहभागिता जनाइ १० अङ्क प्राप्त गरे । अशोकअघि तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीन कुमार श्रेष्ठ र रवीन्द्र मल्ला मात्र अन्तर्राष्ट्रिय दोस्रो श्रेणीका रेफ्री थिए ।
अशोकले सन् २०१९ मा मात्र ५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे भने २ रिफ्रेसर कोर्समा सहभागी भएका थिए । त्यस अवधिमा उनले जोर्डनमा भएको अल हसन ओपन, जर्मन ओपन, नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग), अस्ट्रेलियामा भएको ओसिएना प्रेसिडेन्ट कप र अस्ट्रेलियन ओपनमा निर्णायकका रूपमा सहभागी भएका थिए । त्यस्तै ट्युनिसिया र अस्ट्रेलियामा भएको रिफ्रेसर कोर्समा पनि सहभागी भए । सन् २०२० मा मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निभाएका अशोकले २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए ।
अशोकलाई गत पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान गरेको थियो । अशोक पारा तेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।