सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता चैत मध्यमा
काठमाडौं, सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा ११ देखि १५ चैतसम्म ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ संचालन हुने भएको छ ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बिहिबार पत्रकारसम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ छ । गतवर्ष कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ रहेको थियो ।
प्रतियोगितामा कूल १४ वटा इभेन्ट्स समावेश रहने छन् । उक्त प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित लनटेनिस कोर्टमा संचालन गरिने छ ।
प्रतियोगितामा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिश्रित युगल, नेपाल सरकारको सेवामा कार्यरत तथा अवकाश प्राप्त (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती सेवाका राजपत्राङ्कित अधिकृत) हरुको लागि एकल र युगल तथा भेट्रान्सतर्फ एकल र युगलतर्फको ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष माथिका खेलहरु तथा यसपटक थप गरिएको ६५ वर्ष माथि भेट्रान्स युगल इभेन्ट्स छन् ।
पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ । आइटिएफ र एएनएलटिए को नियमअनुसार बेष्ट अफ थ्रीका आधारमा संचालन हुने छ ।