अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान तथा मनोनयन

Manoj Shiama
6 February, 2022 9:09 pm


अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासङ्घले आइतबार एक कार्यक्रम बिच विभिन्न व्यक्तित्वलाई सम्मान तथा महासङ्घको विभिन्न ओहदामा मनोनयन गरेको छ ।
महासङ्घले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग गरेका तथा विभिन्न व्यक्तित्वलाई बुढानीलकण्ठस्थित पार्क भिलेजमा सम्मान गरेको हो । सम्मानित हुने व्यक्तित्वहरूमा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, पूर्व अध्यक्ष मनोज समसेर राणा, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासङ्घका वैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा. ऋषीकेशव विक्रम शाह, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासङ्घका एन्टी डोपिङ्ग तथा मेडिकल कमिसनका प्रमुख डा. अजय समसेर राणा, व्यवस्थापन कमिसनका प्रमुख एवं कोरियन सफ्ट टेनिस सङ्घका उपाध्यक्ष ली ह्युन टेक रहेका छन् ।
यस्तै महासङ्घले लाइफ टाइम एचिभमेण्ट अवार्डबाट महासङ्घका महासचिव चोई सियोङ्ग कोनलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा महासङ्घका अध्यक्ष श्री विनय विक्रम शाहले विभिन्न व्यक्तित्वलाई विभिन्न पदमा मनोनयन पनि गरेका छन् । नेपाल सफ्ट टेनिस सङ्घका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासङ्घको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटीको अध्यक्षमा र सफ्ट टेनिस सङ्घका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन् । यस्तै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा सङ्घका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं सङ्घकी सदस्य एवं प्रशिक्षक निरा कायस्थलाई महासङ्घको निर्देशकमा मनोनयन गरेको छ । सङ्घका पूर्व सदस्य एवं प्रशिक्षक किरण कुमार खड्कालाई महासङ्घको निर्देशक र युएसएका लागि महासङ्घको संयोजकमा, सङ्घका कोषाध्यक्ष सञ्जय नेपाललाई महासङ्घका निर्देशक तथा अस्ट्रेलिया र न्यूजिल्याण्डको संयोजकमा, नारायण प्रसाद जोशीलाई महासङ्घको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरेको छ ।
सोही अवसरमा अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासङ्घबाट प्राप्त खेलकुद सामाग्री महासङ्घका महासचिव चोई सियोङ्ग कोन र उपाध्यक्ष ली ह्युन टेकले मन्त्री गहतराजलाई र मन्त्रीले सङ्घका उपाध्यक्ष विकास पाण्डेलाई हस्तान्तरण गरे ।
कार्यक्रमको मन्त्री गहतराजले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले अन्तर्राष्ट्रिय स्तरमा नेपालले प्रतिनिधित्व गर्नु भनेको नेपालको गौरवको विषय भएको भन्दै यस खेललाई विकास गर्न सवै पक्ष मिलेर लाग्नु पर्ने बताए । खेलले अनुशासित जीवन बिताउन प्रेरणा प्रदान गर्ने र स्वस्थ नागरिकले मात्र स्वस्थ राष्ट्र बनाउन सफल हुने भन्दै खेलकुदमा राजनैतिक चलखेलका कारण विकासको गतिमा अवरोध आइरहेको भन्दै आफू त्यसको विपक्षमा रहेको र त्यसका लागि पहल गरिरहेको समेत बताए ।