देउराली टिम च्याम्पियन
आयोजक देउराली डोजो दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराँते प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियन बनेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको च्याम्पियनले २ स्वर्ण, ३ रजत र ३ कांस्य हात पा¥यो ।
बानेश्वरस्थित इपीएस स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नगदेशका निखिल कार्की तथा महिलामा देउरालीकी कञ्चन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । देउरालीकै नेली जोशी उदीयमान खेलाडी बनिन् ।
विजेतालाई अर्थ मन्त्री जनार्दन शर्मा, प्रदेश सांसद द्वय गणेशप्रसाद दुलाल र राजेन्द्र गुरुङ, नेपाल कराँते महासङ्घका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक देउरालीका अध्यक्ष राजेश जोशी, प्रतियोगिता संयोजक १० औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कुशल श्रेष्ठ, राखेप कर्मचारी सङ्घका पूर्व उप–महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।
सो अवसरमा कान्तिपुर दैनिकका ध्रुव तुलाधर, राजधानी दैनिकका दिलबहादुर तामाङलगायतलाई सम्मान गरिएको थियो । एक दिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।