क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन

Manoj Shiama
14 March, 2015 9:59 am

pokhara badminton
पोखरा
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ।
कुल चार स्वर्ण, चार रजत र आठ कास्य पदकको लागि भएको प्रतियोगितामा शुक्रबार तीन स्वर्ण, दुई रजत र दुई कास्यपदक हात पार्दै कास्की जिल्ला च्याम्पियन बनेको हो। यस्तै एक रजत र एक कास्यपदक जितेको बागलुङ दोस्रो तथा एक रजत र एक कास्यपदक हात पारेको रुपन्देही तृतीय भएको छ। यस्तै चौथो भएका नवलपरासी र पर्वतले समान दुई कास्य तथा पाँचौं भएको तनहुँले एक कास्यपदक जितेको छ।
शुक्रबार भएको लेडिज सिंगलतर्फको फाइनलमा बागलुङकी मीना श्रेष्ठले कास्कीकी पुष्पा चौधरीलाई २१–१४ र २१–१० को सोझो सेटमा पराजित गरिन्। सो खेलमा नवलपरासीकी निशा श्रीस र कास्कीकी आकृति केसी तृतीय भए।
लेडिज डबल्सतर्फ कास्कीका प्रतिभा गुरुङ र यामकुमारीको जोडीले कास्कीकै पुष्पा चौधरी र मेनुका गुरुङको जोडीलाई २१–११ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो। सो खेलमा तनहुँका बुद्धिसरा सुनार र सपना विक तथा नवलपरासीका निशा श्रीस र जुना श्रेष्ठको जोडी तृतीय भयो।
मेन्स डबल्सतर्फ कास्कीको विशाल खड्का र शम्भु श्रेष्ठको जोडीले रुपन्देहीका गणेश रायमाझी र विश्वास नेपालको जोडीलाई २–१ को सेटमा पराजित गर्न सफल भयो। पहिलो सेट २१–२३ ले गुमाएको कास्कीले दोस्रो सेट २१–११ ले हात पार्दै बराबरीमा ल्यायो। प्रतिस्पर्धात्मक तेस्रो सेटमा २१–१९ ले आफ्नो पक्षमा पार्दै कास्कीले स्वर्णपदकमाथि हक जमाउन सफल भयो। सो खेलमा कास्कीका नरबहादुर गुरुङ र बुद्धिमान गुरुङ तथा पर्वतका प्रेम गुरुङ र अतीत गुरुङको जोडी तृतीय भयो।
मेन्स सिंगलतर्फ कास्कीका विशाल खड्काले बागलुङका विवेक जिसीलाई २१–१७ र २१–१५ को सोझो सेटमा पराजित गरे। सो खेलमा रुपन्देहीका गणेश रायमाझी र पर्वतका अतीत गुरुङ तृतीय भए।
विजेता तथा उपविजता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेत र  कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार प्रदान गरे। कार्यक्रमको सञ्चालन क्षेत्रीय खेलकुद विकास समितिका नासु डीबी नेपालीले गरेका थिए। प्रतियोगितामा १२ जिल्लाको सहभागिता रहेको थियो।