सान्तेषमान सिंह स्मृति बुद्धिचाल चैतमा
Manoj Shiama
15 March, 2022 6:23 am
नेपाल बुद्धिचाल सङ्घका पूर्व सह अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिंह प्रधानको ४५ औ पुण्य तिथिमा यही २५ देखि २८ चैतसम्म काठमाडौँको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा स्व. सान्तेषमान सिंह प्रधान स्मृति खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा हुने भएको छ ।
नेपालमा बुद्धिचाल खेल विस्तार र विकासको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भएका मिलनसार व्यक्तित्व प्रधानको स्मृतिमा हुने प्रतियोगितामा कुल पुरस्कार रकम दुई लाख तेत्तिस हजार एक सय रुपैयाँ छ ।
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता स्विस लिग प्रणाली अनुसार नवौँ चरणसम्मको खेल हुनेछ ।
प्रतियोगितामा विजेता खेलाडीले ५१, हजार एक सय, उप– विजेताले ३०, हजार तीन सय र तेस्रो स्थान हात पार्नेले २० हजार दुई सय रुपैयाँ पुरस्कार पाउने छन् । त्यसै गरी, चौथोले १५ हजार, र पाँचौँ हुनेले १० हजार रुपैयाँ पाउने छन् ।
प्रधान परिवारको पनि सहयोग रहने प्रतियोगितामा छात्र, छात्रा र विभिन्न विधामा गरी ३२ जना खेलाडीले पुरस्कार हात पार्नेछन् ।
६ लाख ५० हजार खर्च अनुमानित लाग्ने प्रतियोगितामा नेपालका शीर्ष खेलाडीहरू सहित एक सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुको संयोजकत्वमा टेक्निकल कमिटी, शिरोमणि बज्राचार्यको संयोजकत्वमा स्वयंसेवक उप समिति र यज्ञप्रसाद पन्तको संयोजकत्वमा आर्थिक उप समिति गठन गरिएको छ । यसै गरी, बलराम बस्नेतको संयोजकत्वमा खाद्य तथा आवास र कार्यक्रम गठन गरिएको छ । प्रतियोगिता संयोजक क्लबका सचिव राजु ताम्राकार रहेका छन् ।