फुटबलमा शेर्पा पक्ष कमजोर
चार वर्ष विकृतिबाट ग्रसित नेपाली फुटबल त्यस बाट उन्मुक्ति पाउँदै बाहिर आउने सम्भावना प्रबल देखिएको छ । शुक्रवार सम्पन्न एन्फाका बी र सी डिभिजन क्लबको प्रतिनिधि चयनमा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्षधर कमजोर देखिएका छन् । यसैगरी चार जिल्लाको टुङ्गो लागी सकेको छ ।
कुल २४ मतको टुङ्गो लाग्दा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्बांग सुदृढ अवस्थामा छन् । चार वर्षे कार्यकालमा नेपाली फुटबलको साख नै गिराउने काममा अध्यक्ष शेर्पा उद्यत रहेको असर साधारण सभामा प्रस्ट देखिन थालेको छ ।
साधारण सभा बाँकी रहेका जिल्लामा समेत शेर्पाको अवस्था कमजोर रहेको जनाइन्छ । आफ्ना आसेपासेलाई विदेश घुमाउने निकट जिल्ला अध्यक्षलाई लाभ दिने तथा जिल्लाका क्लबहरूलाई कुनै ध्यान नदिने गरेको आरोप लाग्ने गरेको छ । यसै क्रममा केही महिना अघि जम्बो टोलीलाई अध्यक्ष शेर्पाले विदेश भ्रमण गराएका थिए । यसरी भ्रमण गर्ने केही जिल्ला अध्यक्षहरूले केन्द्रीय अध्यक्षबाट लाभ लिएको तथा जिल्ला फुटबलमा कुनै चासो नदिएको गुनासो जिल्ला तहमै हुन थालेको छ । व्यक्तिगत लाभ लिएर आफ्नो जिल्लाको फुटबलमा भने मतलब नै नगर्ने केन्द्रीय अध्यक्ष निकट ती जिल्ला अध्यक्षका विरुद्धमा जिल्लाका क्लबहरू एकजुट हुन थालेका छन् ।
प्रदेश सरकारले र केन्द्रीय सरकारले गरेको कामको जस आफूले लिने क्रममा शेर्पा निकट केही जिल्ला अध्यक्ष लागेका छन् ।
यसैगरी रेफ्रिको सुविधामा ध्यान नदिने यस नेतृत्वकै कारण विगतमा धेरै रेफ्रीले विद्रोह पनि गरी सकेका छन् । निश्चित प्रशिक्षकको हातमा प्रशिक्षकको घेराबन्दीमा परेका शेर्पाकै कारण देशमा थुप्रै थुप्रै प्रशिक्षक आफ्नो बारेमा सोच्न बाध्य छन् ।
नाम नबताउने सर्तमा एक प्रशिक्षक भन्छन्, “ हाम्रो योग्यता र क्षमताको कुरा होइन, सीमित व्यक्तिको निगाहाले मात्र अवसरको टुङ्गो लाग्छ ”
अहिले फुटबलको कुनै पनि निकायमा जिम्मेवारीको टुङ्गो योग्यताले होइन, निगाहाले नै लाग्ने गरेको छ । शक्ति केन्द्र रिझाएर व्यक्तिगत लाभ लिन उद्यत एन्फा अध्यक्ष शेर्पाका लागि अख्तियारमा अनेकौँ मुद्दा परेका राखेपका तत्कालीन सदस्य सचिव रमेस सिलवाल पदमा नुहुन थप क्षतिको विषय बनेको छ ।
सदस्य सचिवलाई प्रभावमा पार्दै साधारण सभामा लाभ लिने शेर्पाको योजना समेत तुहिएको छ ।
नेपालका व्यापारिक घरानबाट व्यक्तिगत लाभ लिएर मूलधारका ए डिभिजन क्लब माथि अन्याय गर्न समेत शेर्पा तल्लीन रहेका थुप्रै उदाहरण छन् ।