खराब दिनको अन्त्य गर्दै सुधारको बाटोमा नेपाली फुटबल
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को जारी जिल्ला अधिवेशनले परिवर्तनको पक्षमा मत जाहेर गरेको छ । भ्रष्ट प्रशासन, अध्यक्षको नस्लीयबादी सोच र शक्ति केन्द्र रिझाउन फुटबलकर्मीलाई गर्ने बेवास्ता यी चार वर्षे कार्यकालका विशेषता बनेका थिए । बारम्बार फुटबलकर्मी माथिको मान मर्दन, राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको व्यक्तिगत जिन्दगीमा आइ परको विपत्तिमा सङ्घको बेवास्ताले कर्मा छिरिङ नेतृत्वलाई अझ धेरै आलोचित बनाएको हो ।
पछिल्लो समय व्यापारिक घरानाबाट लाभ लिएर आधा शताब्दी भन्दा लामो समय मेहनत गरेर फुटबललाई यस उचाइमा ल्याउने ए डिभिजन क्लब माथिको बेवास्ता अध्यक्ष कर्मा छिरिङको अर्को विशेषता बनेको थियो ।
अहिले फुटबलमा ओपन सेक्रेट छ, हिजो खेलाडी जीवनमा पाएको सफलताका कारण केही निश्चित व्यक्तिले फुटबललाई आफ्नो अनुकूल प्रयोग गर्दै छन् । यसका सयौँ उदाहरण छन् । प्रशिक्षक सङ्घ यिनीहरूको कब्जाबाट बाहिर आइ सकेको छ । भक्तपुरमा ध्वस्त भएको फुटबलको संरचना त्यसै समूहको कारण हो भन्ने सबैलाई जगजाहेर नै छ । आफू ठुलो पदमा रहेर लाभ लिने तथा अन्य खेलाडी तथा प्रशिक्षकलाई निगरानीमा राख्ने सोचकै कारण धेरै प्रशिक्षक र खेलाडी अहिले मर्कामा रहेका छन् ।
अख्तियारमा मुद्दा परेको व्यक्तिलाई महिला फुटबलको जिम्मेवारी दिन मिल्छ या मिल्दैन अर्को बहसको विषय त छदै छ ।
आफूलाई स्वघोषित फुटबल विज्ञ बताउने केही व्यक्तिको चङ्गुलमा नेपाली फुटबलका गएका चार वर्षको गति पूर्ण अवरोध पनि भएको थियो ।
यसै गतिविधि प्रतिको असन्तोष सम्पन्न भई सकेको जिल्ला सङ्घको अधिवेशनमा प्रस्ट भएको छ । बाँकेमा अध्यक्ष कर्मा पक्षधरको हार हेर्न लायक थियो भने धेरै जिल्लामा अध्यक्ष शेर्पाको पक्षको विरुद्धमा फुटबलकर्मी रहे ।
फुटबलमा यस विकृत राजको अन्त्य सायद ६ असारका दिनबाट हुने बाटो तय भई सकेको छ । बाँकी रहेका जिल्ला सङ्घमा आबद्ध प्रतिनिधि र ए डिभिजन क्लब अधिकारीले पनि विवेकको प्रयोग गर्दै ६ असार देखि फुटबललाई सुधारको बाटोमा लैजाने छन् ।