सौगात र पुरन सेमिफाइनलमा
गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेस प्रदेशका अमन अलि तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे । पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डङ्गोलले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनलमा पुगे । पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
वसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरे । सोही तौल समूहमा बाग्मतीका सिरिस खनालले प्रदेश १ का अभिनय राईबाट वाक ओभर पाउँदै सेमिफाइनलमा पुगे । पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाए । पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल भए । रोशनले मधेसका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाले । पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बाग्मतीका उमङ्ग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गरे ।
मीनु अघि बढ्दै
महिला ५१ केजीमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनलमा पुगेका छन् । मीनुले बाग्मतीकी अस्मिता दुवाल तथा मायाले सुदूरपश्चिमकी सोनिया शेठ्ठीलाई हराए ।
महिला ५७ केजीमा नेपाल प्रहरीकी निशा तामाङले मधेसकी सुमिना खड्का तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सीमा गुरुङलाई पराजित गरी सेमिफाइनलमा पुगे । महिला ६० केजीमा एपीएफकी सङ्गीता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाक ओभर पाउँदै सेमिफाइनलमा पुगिन् । अर्को क्वाटरफाइनलमा प्रदेश १ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउँदै सेमिफाइनलमा पुगिन् । महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरिन् ।