केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मङ्गलवार देखी राजधानीमा सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले एक कार्यक्रमबिच उद्घाटन गरे । सो अवसरमा मन्त्री गहतराजले विद्यालय स्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्त्वपूर्ण भएको बताए ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले विद्यालय स्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।
उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।
ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनै पनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरेका थिए ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसुमा ५ सय खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रोपटक हो ।
एथलेटिक्स ः निशा पहिलो
एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोस्रो तथा बागमती प्रदेशकी कृतिका रन्जितकार तेस्रो भए ।
छात्रा १ हजार ५ सय मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गरेकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो भइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोस्रो तथा कर्णालीकै मोतीकला डाँगी तेस्रो बने । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको छात्रा हाई जम्पमा लुम्बिनीकी प्रमीला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमीलाले १.३० मिटर जम्प गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रूपमा दोस्रो भए । दुवैले १.२५ मिटर हाम फाले ।
कराँते ः रेहान र सन्जुलाई स्वर्ण
कराँतेको एकल कातातर्फ पुरुषमा बागमतीका रेहान जोवद तथा महिलामा बागमतीकै सज्नु देशार पहिलो भएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराँते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजीत बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले कांस्य जिते । महिलामा बागमतीकी प्रजिस्मा श्रेष्ठ दोस्रो तथा कर्णालीका प्रियङ्का शाही र ममता नेपाली तेस्रो बने ।
भलिबल ः
भलिबलको छात्रमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिगमा सुदूरपश्चिमले कर्णालीलाई ३०–३२, २५–१४ र २५–१२ को सेटमा पराजित ग¥यो । कर्णाली पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
समूह ‘ए’ मा लुम्बिनीले मिश्रित प्रदर्शन गरेका छन् । गण्डकीले लुम्बिनीलाई १८–२५, २५–१७ र ३०–२८ ले हरायो । बागमती विरुद्धको खेलमा भने लुम्बिनी २५–१८, २३–२५ र २५–१५ ले विजयी भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्राको प्रतिस्पर्धामा गण्डकीले कर्णालीलाई २५–११ र २५–१६ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय ग¥यो । जितसँगै गण्डकी समूह ‘बी’ को विजेता भयो । कर्णाली पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो ।
समूह ‘ए’ मा दोहोरो जित निकाल्दै लुम्बिनीले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–२१ र २५–१२ तथा बागमतीलाई २५–२१ र २५–२३ को सीधा सेटमा पन्छायो ।
कबड्डी ः
कबड्डीको छात्रमा लुम्बिनीले गण्डकीलाई ६९–३६ र कर्णालीलाई ६८–३४ तथा सुदूरपश्चिमले बागमतीलाई ६८–३४ ले पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको छात्रामा बागमतीले कर्णालीलाई ३१–२६, सुदूरपश्चिमले गण्डकीलाई ६६–३९ र लुम्बिनीले बागमतीलाई ३६–२४ ले हराए ।
राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगिताको छात्र÷छात्रा दुवैमा ५–५ टिम सहभागी छन् । लिगमा हासिल गरेको अङ्कका आधारमा विजेताको टुङ्गो लाइने छ ।