एन्फा कार्यसमिति बैठक स्थगित


अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बिहीबार विहान एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको छ ।
अध्यक्ष पंकजबिक्रम नेम्बाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो। अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएका थिए ।
तर पूर्वअध्यक्ष गणेश थापा पक्षका पदाधिकारीले हाजिरी गर्न नमानेपछि अध्यक्षले बैठक स्थगित गरेका थिए ।
यता अघिल्लो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नवीन पाँडेलाई बर्खास्त गर्न माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित एन्फा केन्द्रीय समितिका १२ जनाले निवेदन दर्ता गराएका छन् ।
बैठकमा विभिन्न १८ वटा एजेन्डामा छलफल हुने तय भएको थियो ।
यसअघि सोमबार बस्ने तय भएको दोस्रो केन्द्रीय कार्यसमिति एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ बिरामी भएपछि बिहीबारका लागि बोलाइएको थियो।
महिला साफ च्याम्पियनसिप आयोजना, पदपूर्ति समिति, नेपाल सुपर लिग, विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारणक ए, बी र सी डिभिजन लिगको मिति घोषणा, ललित स्मृति यू–१८ प्रतियोगिता, एन्फा प्रवक्ता नियुक्ति र प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको एजेन्डामा छलफल हुने तय भएको थियो ।
यी एजेन्डामध्ये सिईओ नियुक्तिको विषय पेचिलो बनेको थियो। भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफ्ना छोरा गौरव थापालाई सिईओ बनाउन कसरत गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्ष विराटजंग शाही थापा र दीपक खतिवडाले अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्यानलमा रहेर निर्वाचन जिते पनि उनीहरू पूर्वअध्यक्ष गणेश थापाको प्यानलमा लागेका थिए ।
त्यसो त नेम्बाङलाई निर्वाचन जित्नका लागि थापा पक्षको सहयोग थियो । २०७२ को कात्तिकमा फिफाले पूर्वअध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध लगाउदा उनका जेठा छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त केसमा मुछिएका थिए । एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो । त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए ।

 

Comment