अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा
नेपाल भलिबल सङ्घको केन्द्रीय अध्यक्षमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै सङ्घकी वर्तमान उपाध्यक्ष मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । नेपाली भलिबलमा सुशासन, जनसहभागिता र व्यवसायीकता भन्ने नाराका साथ उनले भलिबलको विकास र विस्तारका लागि समन्वय, सहकार्य, साझेदारी, संस्थागत सुदृढीकरण र सदस्य वृद्धि जस्ता एजेन्डालाई अघि सारेकी छिन् ।
उनले भलिबल विकासका पाँच पमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक सुधारका कार्यक्रमलाई अघि सारेकी छिन् । उनले ग्रास रुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र सङ्घको प्रशासनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरू दानबहादुर तामाङ, गङ्गाबहादुर थापा, प्रकाश थपलिया तथा सुदूरपश्चिम प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह, प्रदेश एकका खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्ले सहित सङ्घका पदाधिकारीले मास्केलाई उम्मेदवारीका लागि शुभकामना दिएका थिए ।