सेल्फ डिफेन्सको तालिम सुरु 

नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । संघले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरी “महिला हिंसा विरुद्ध आत्म सुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेस्रो अन्तर्राष्ट्रिय सेमिनार” सुरु भएको जानकारी गराएको हो ।
सन् २०१६ मा स्थापना भई आत्मरक्षा सम्बन्धी बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्देश्यलाई अझ फराकिलो बनाउँदै लैजाने क्रममा तेस्रो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको जनाएको छ । विशेषतः महिला तथा किशोरीहरूलाई आफ्नो सुरक्षा हेतु आत्मरक्षा सम्बन्धी बिभिन्न सिप आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै स्थापनाको सातौँ वर्षसम्म आई पुग्दा यस संघले देशका देशका बिभिन्न स्थानमा हजारौँ महिला, किशोरी तथा अन्यलाई प्रशिक्षण प्रदान गरेको सङ्घका महासचिव नूतन श्रेष्ठले जानकारी दिए ।
२५ देखि २९ भदौसम्म सञ्चालन हुने सेमिनारमा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्यान्डका स्टानिस्ल म्याजर्याक, अन्तर्राष्ट्रिय कम्ब्याट मार्सल आर्ट्स सोसाइटिका संस्थापक भारतका जगदीश सिंह खत्रीले सेल्फ डिफेन्सका नेपाली प्रशिक्षक एवं प्रशिक्षार्थीहरूलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ । सो प्रशिक्षण कार्यक्रममा १०० जनासम्म प्रशिक्षक प्रशिक्षण तथा ३ सयभन्दा बढी विद्यार्थी तथा अन्यलाई सहभागी गराउने उद्देश्य रहेको सङ्घका अध्यक्ष डी.वि. रानापालले जानकारी दिए ।
भाद्र २८ र २९ गते राष्ट्रिय खेलकुद परिषद् परिसर दशरथ रङ्गशालामा आयोजना गरिने उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बिभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागीहरू उपस्थित हुने सेल्फ डिफेन्सका नेपाल ब्रान्च चिफ एवं प्रमुख प्रशिक्षण सञ्जु महर्जनले जानकारी गराइन् ।
Comment