समस्याको चाङका बीच अध्यक्ष श्रेष्ठको मनपरीले सुटिङ खेलाडीको भविष्य अन्धकारतर्फ
नेपाल सुटिङमा विविध समस्या आइ सके पछि यससँग सरोकार राख्नेहरूको मतमा यसमा आमूल सुधार र परिवर्तन आवश्यक भएको ठहर गरेका छन् । अहिले नेपाली सुटिङ दुई ध्रुवमा विभाजित छ । अध्यक्ष पुष्पदास श्रेष्ठ नेतृत्व निकट एकाध व्यक्ति बाहेक आम सुटिङ परिवार नै नेतृत्व प्रति आक्रामक बनेको छ ।
नेपाल सुटिङ सङ्घको व्यवस्थित कार्यालय समेत छैन । सातदोबाटो स्थित सुटिङ रेन्जसँगै सङ्घको कोठा भए पनि सबै काम अध्यक्ष श्रेष्ठको निजी निवासबाट हुने गरेको छ । सङ्घको कार्यालय सातदोबाटो दर्ता भए पनि मेल आइडी र पोस्ट बक्स नम्बर दुवै श्रेष्ठको निजी कार्यालय र निवास नै राखिएको छ । सङ्घका केही व्यक्तिले दिएको जानकारी अनुसार बैठक पनि त्यहीँ हुने गरेको छ ।
अध्यक्ष श्रेष्ठको ग्लोबल असिस्टेन्टको इमेल प्रयोग गरिएको छ । पोस्ट बक्स र सम्पर्क नम्बर समेत पुष्पदासको राखिनु आश्चर्य चकित भएको महासचिव त्रिलोचन श्रेष्ठ बताउँछन् । सातदोबाटोमा सङ्घकै नाममा टेलिफोन रहे पनि सुचारु गरिएको छैन ।
अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय निकायमा महासचिवको पनि सम्पर्क माध्यम तयार गर्नबाट अनेक प्रपञ्च गरेर रोकेका छन् । फोटो र विवरण बुझाउनु पर्ने निकायमा समेत त्यसलाई गुपचुप राख्दै अध्यक्ष श्रेष्ठले मनोमानीको बाटो खुला गरेका छन् ।
कत्तिसम्म हेलचेक्र्याइँ गरिएको छ भने नेपाल ओलम्पिक कमिटीमा बुझाइएको नामावलीमा अपडेट नगरेर १२ वर्ष पुरानो महासचिवको नाम अझै राखिएको छ ।
सुटिङमा सबैभन्दा आश्चर्य चकित पर्ने विषय चाही आर्थिक पारदर्शिता नै हो । अन्तर्राष्ट्रिय महासङ्घले सबै राष्ट्रिय सङ्घलाई सहयोग प्रदान गर्ने प्रावधान भए पनि नेपाली सुटिङले त्यो पाएको छैन । अध्यक्षको मात्र व्यक्तिगत सम्पर्क हुने भएका कारण कतै राष्ट्रिय सङ्घलाई आएको सुविधा नै अध्यक्षले व्यक्तिगत रूपमा प्रयोग गरेको त होइन भन्ने आशङ्का धेरैलाई छ ।
सङ्घको आर्थिक कारोबारमा कोशाध्यक्षलाई बे वास्ता गरिएको गुनासो छ । कोशाध्यक्षको अनिवार्य हस्ताक्षर आवश्यक भए पनि त्यसो नगरिएको सङ्घ कोशाध्यक्ष सतिस श्रेष्ठ बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बाहेक अन्य कुनै पनि प्रतियोगिता आयोजना गर्न सुटिङ सङ्घ असमर्थ छ । नियमित प्रशिक्षण हुँदैन ।
प्रतियोगितामा सहभागिता गराउँदा वैज्ञानिक र पारदर्शी छनोटलाई बेवास्ता गर्दै मनपरी गरेको गुनासो छ । सम्बन्धित प्रशिक्षकलाई समेत बेवास्ता गरिएको गुनासो सुटिङ सङ्घमा देखिन थालेको छ ।
नेपाल सुटिङ सङ्घको कार्यकाल सकिए पनि साधारण सभाको कुनै चासो देखाइएको छैन । हाल जिल्ला खेलकुद विकास समिति लगायत निकायलाई बे वास्ता गर्दै जिल्ला तहमा समेत मनपरी गरिएको गुनासो सुटिङ खेलमा आबद्ध धेरैको छ । काठमाडौँ उपत्यका बाहिर खेलाडीलाई बेवास्ता गरिएको आरोप सर्वत्र लाग्ने गरेको छ ।