प्रोफेसनल आइटिएफ खाँडादेवीमा
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/01/ramechapi.jpg?resize=194%2C259&ssl=1)
आठौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ प्रतियोगिता खाँडादेवी गाउँपालिकास्थित रामेछापमा १९ र २० माघमा हुने भएको छ । आयोजक रामेछाप तेक्वान्दो आइटिएफ जिल्ला सङ्घका सचिव सपुत मोक्तानले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ४० हजार तथा तेस्रो हुने खेलाडीले ३० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा महिला र पुरुषका कुल दुई स्पर्धा समावेश गरिएका छन् ।
प्रतियोगितामा ३ विभागीय, ७ प्रादेशिक तथा आयोजक गरी ११ टोलीका ४ का दरले ४४ खेलाडीको सहभागिता रहने छ । नेपाली मार्सल आर्टलाई व्यवसायी बनाउने क्रममा सो प्रतियोगितालाई विशेष रूपमा लिइने गरिन्छ ।
प्रतियोगिताको अनुमानित लागत १५ लाख रुपैयाँ रहेको छ । सपुतले देशभरिका खेलाडीको उपस्थिति रहने कारण प्रतियोगिता खाँडादेवीको पर्यटकीय विकासमा समेत सहयोगी हुने विश्वास गरिएको बताए। प्रतियोगिता आयोजनाका लागि खाँडादेवी गाउँपालिका कार्यालय र खाँडादेवी–७ को विशेष सहयोग रहेको छ ।