आरबीबीएल–इशान कप फुटसल शनिवारदेखि

Manoj Shiama
15 March, 2024 12:32 pm

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा आरबीबीएल–इशान कप तेस्रो फुटसल प्रतियोगिता शनिवारदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ संस्थाका १८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईशानका अध्यक्ष राम विनय श्रेष्ठले जानकारी गराए । सहभागी टिमहरूमा राष्ट्रिय वाणिज्य बैङ्क, एनएलजी इन्स्योरेन्स, नागरिक उड्डयन प्राधिकरण, माछापुच्छ्रे  बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड, नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल बैङ्क लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र, सीटीइभीटी, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड, एभरेस्ट बैङ्क लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् । विद्युत् र वायुसेवा निगमबाट २–२ टिम सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीन दिने प्रतियोगिताका खेलहरू सोल्टीमोडस्थित चैत्य फुटसल रिक्रिएसन सेन्टरमा खेलाइने छ ।