टिम मेनेजरकै मतमा फुटबल टोलीको साउदी अरेबिया यात्रा

नेपालले साउदी अरेबियामा भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा शानदार प्रदर्शन गरेको थियो । सोही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पछि नेपाली टोलीकी मेनेजर बिन्द्रा देवानले सो प्रदर्शनलाई नेपालकै ऐतिहासिक उपलब्धिको संज्ञा दिएकी छिन् । उनले सावित्रा भण्डारी र प्रीति राईको प्रशंसा भइरहेको समय यी दुई सहित सबै टोलीका सदस्य प्रशंसा गर्न लायक भएको बताएकी छिन् । भन्छिन्,‘ भन्छिन्,‘ भण्डारी र प्रीति त भई नै हाले । हाम्रा सबै नानीहरू एकसे एक हुन् । उनीहरू साँच्चै यस देशका स्टार हुन् । साउदी अरेबियाबाट उनीहरू आफूलाई नयाँ रोल मोडलको रूपमा स्थापित गरेर फर्केका छन् । ’ बिन्द्राकै बिचारमा टोलीको यस सफलतामा राजेन्द्र तामाङ, कमला रखाल, र उज्ज्वल मानन्धर सहितको प्रशिक्षण टोली र टिम व्यवस्थापनको भूमिका त महत्त्वपूर्ण रह्यो नै । साथमा टिम फिजियो नबिना श्रेष्ठको भूमिका पनि अहंम रहेको उनी बताउँछिन् । ‘ नबिना टोलीकी फिजियो मात्र होइन, आत्मबल बढाउने उत्प्रेरक समेत हुन्,’ टिम फिजियोकै बारेमा बिन्द्राको मत छ । प्रशिक्षक तामाङले नै डेब्यु गराएका चन्द्रा भण्डारी, सविना चौधरी र सरस्वती हमालले पाएको अवसरलाई सही उपयोग गरेका थिए ।

साउदी अरेबियामा रहेका नेपालीहरूको भावनात्मक साथ टोलीको आत्मबल बढाउने अर्को प्रमुख कारण रहेको उनको मत छ । बिन्द्राकै अनुसार १ हजार ८ सय किलोमिटर लामो दुरी तय गरेर पनि नेपालीहरू खेल हेर्न रङ्गशाला पुगेका थिए । प्रशिक्षण र खेलको बिचको समय छाडेर एक पटक नेपाली खेलाडीको अनुहार नजिकबाट हेर्न चाहनेहरूको साउदी अरेबियामा ठुलो भिड नै थियो ।
फाइनलमा सावित्रा आकस्मिक रूपमा व्यावसायिक खेलका लागि जानु पर्ने बाध्यता तथा दुई प्रमुख खेलाडीको चोट नेपालले उपाधि गुमाउनुको प्रमुख कारण भई नै हाल्यो । बिन्द्राकै विचारमा यस यात्रामा तामाङ सहितको प्रशिक्षण टोलीले आफूलाई राम्रोसँग नै पुष्टि गरे । पहिलो दिन देखि फाइनलसम्म हरेक एक पछि अर्को खेलमा नेपाल सुधारिएको थियो । ‘ हरेक खेलमा कमजोरी राम्रोसँग नियाल्न तथा अर्को खेलमा त्यो कमजोरी हुन नदिन हामी सफल भयौ,’ उत्कृष्ट प्रदर्शनकै बारे उनको मत छ ।

फुटबल संसारमा सबै भन्दा लोकप्रिय खेल हो । यसमा सहजै अन्तर्राष्ट्रिय पदक या सफलताका गफ पक्कै सहज होइन । तथापि संसारमै लोकप्रिय खेलमा प्रभाव जमाउनुको मजा त छदै छ । हो, नेपाली खेलकुद त्यसै उत्कृष्ट सफलताको निम्ति लायक भएको तथा वर्तमान महिला फुटबल टोली धेरै अर्थमा उत्कृष्ट रहेको उनको अनुभव छ ।


