आरबीबीएल–ईशान कप फुटसल सुरु

Manoj Shiama
17 March, 2024 6:40 am


कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (ईशान) को आयोजनामा आरबीबीएल–ईशान कप तेस्रो फुटसल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उप कार्यकारी प्रमुख देवेन्द्र रमन खनाल र आयोजक ईशानका अध्यक्ष राम विनय श्रेष्ठले एक कार्यक्रमबिच संयुक्त रूपमा उद्घाटन गरे ।
पहिलो दिन समूह चरणका २१ खेल सम्पन्न भए । त्यसमा १९ खेलको नतिजा निस्कियो भने २ खेल बराबरीमा टुंगियो । नेपाल वायुसेवा निगम ‘ए’ ले नागरिक उड्डयन प्राधिकरणलाई १–०, नेपाल बैंक लिमिटेडले नेपाल विद्युत् प्राधिकरण ‘ए’ लाई ५–२ तथा एभरेस्ट बैंक लिमिटेडले नेपाल टेलिभिजन (एटीभी) लाई ३–०ले हराए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एनएलजी इन्स्योरेन्सलाई ३–०, सीटीइभीटीले राष्ट्रिय वाणिज्य बैंकलाई २–०, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले जनक शिक्षा सामाग्री केन्द्रलाई ३–२ ले तथा नेपाल आयल निगमले माछापुच्छ्रे बैंकलाई ४–३ ले हराए । कृषि विकास बैंक लिमिटेडले वायुसेवा निगम ‘बी’ लाई ५–०, वायुसेवा निगम ‘ए’ ले नागरिक लगानी कोषलाई १–०, एनएलजीले एनटीभीलाई ७–३ र केयुकेएलले एभरेस्टलाई २–० ले पराजित गरे ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भइरहेको प्रतियोगिताको समूह चरणको अन्य खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सीटीइभीटीलाई २–०, राष्ट्रिय वाणिज्य बैंकले जनक शिक्षालाई १–०, आयल निगमले कृषि विकास बैंकलाई २–०, विद्युत् प्राधिकरण ‘बी’ ले माछापुच्छ्रे«लाई २–१, नेपाल बैंकले नागरिक लगानी कोषलाई ३–०, एभरेस्टले एनएलजीलाई २–१, सीटीइभीटीले जनक शिक्षालाई ३–१ र विद्युत् प्राधिकरण ‘बी’ ले कृषि विकास बैंकलाई २–१ ले हराए । नागरिक उड्डयनले नेपाल बैंकसंग १–१ तथा विद्युत् प्राधिकरण ‘ए’ सँग २–२ गोलको बराबरी खेल्यो ।
प्रतियोगितामा १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा खेलिरहेका छन् । वायुसेवा निगम र विद्युत् प्राधिकरणको समान २–२ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । फाइनल सोमबार हुनेछ ।