प्रकाश दाहाल स्मृति भलिबलको तयारी पुरा

प्रज्ञा प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाखसम्म हुने प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रमको तयारी पुरा भएको आयोजक कमिटीकी संयोजक डोल्मा माया गोलेले जानकारी दिइन् ।

प्रतियोगितामा १९ भन्दा बढी टोलीको सहभागिता रहेको छ । यस प्रतियोगिता नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ । 

कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने २ टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्राङ्गणमा हुने छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

प्रतियोगितामा नेपालको विभागीय टोलीबाट खेली सकेका तथा राष्ट्रिय टोलीबाट प्रतिनिधीत्व गरी सकेका खेलाडीलाई सहभागी छैनन् । प्रतियोगिताले दक्षिण ललितपुरमा भलिबलको लोकप्रियता  माथिल्लो उँचाइमा पुग्ने विश्वास गरिएको छ । 

Comment