ब्याडमिन्टनमा फेरी मनोमानी निर्णयको आरोप

वैधानिकता विवादमा रुमल्लिइरहेको  राम जी बहादुर श्रेष्ठ नेतृत्वको नेपाल ब्याडमिन्टन सङ्घमा थप विवाद बढेको छ । सङ्घ अध्यक्ष श्रेष्ठले कार्य समितिका धेरै जनासँग सल्लाह नगरी मनोमानी निर्णय गर्ने गरेको आरोप लाग्न थालेको छ । 

पेरिस ओलम्पिक २०२४ मा छनोट भएका प्रिन्स दाहाल ओलम्पिक तयारीका लागि श्रीलङ्का जाने तयारीमा छन् । सोही टोलीमा मुख्य प्रशिक्षक सुदिप योञ्जन समेत जाने भएका छन् । यसरी जानका लागि संघले पत्राचार गरेको थियो । 

ब्याडमिन्टन निकट श्रोतका अनुसार श्रेष्ठ र उप महासचिव नवीन विक्रम शाहको मिलेमतोमा सो निर्णय भएको हो । सङ्घमा सल्लाह नगरी श्रेष्ठ र  राखेप सदस्य सचिव टङ्क लाल घिसिङले सुदिपलाई पठाएका हुन् । यसका लागि श्रेष्ठसँग व्यक्तिगत रूपमा पन नजिक मानिएका उप महासचिव नवीन विक्रम शाहलाई प्रयोग गरिएको थियो । 

‘हामीलाई योञ्जनसँग व्यक्तिगत पूर्वाग्रह छैन । तर हरेक निर्णय सल्लाह र कार्य समितिले गर्ने कुरा श्रेष्ठले ध्यान नदिएका कारण समस्या आएको हो ,’ श्रेष्ठसँग असहमत एक सदस्य भन्छन् । 

कार्यसमितिको फेसबुक वालमै अहिले राम जी श्रेष्ठले गरेको निर्णयलाई हिटलरी शैलीको तानासाहको संज्ञा दिइएको छ । धेरै सङ्घ सदस्यहरू अहिले श्रेष्ठ र शाह प्रति असन्तुष्ट छन् । सो कार्य समितिका धेरै जना सदस्यहरूको बिचमा सामूहिक रूपमा विद्रोह गर्ने बारेमा पनि सल्लाह भएको छ । 

Comment