बिर्तामोडमा मेची अञ्चलको पहिलो ब्याडमिन्टन एकेडेमी

 झापाको बिर्तामोडमा पहिलो पटक मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा ब्याडमिन्टनको प्रशिक्षण सुरु भएको छ । विभिन्न विधाका राष्ट्रिय स्तरका ब्याडमिन्टन प्रतियोगिताहरू सञ्चालन भइसकेको सो कभर्ड हलमा औपचारिक रूपमा प्रशिक्षण सुरु भएको हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीले जानकारी दिए । भारत गुजरातको बि २१ स्पोर्टस प्रालिको ब्रान्ड ‘ब्याडमिन्टन २१ एकेडेमी’ सँगको साझेदारीमा मेहरमानमा विभिन्न समूहमा प्रशिक्षण सुरु भएको हो । 

 प्रशिक्षणका लागि भारतका पूर्वराष्ट्रिय खेलाडी वरदान तिवारी बिर्तामोड आइसकेका छन् । तिवारीले मेहरमानमा प्रशिक्षणसमेत सुरु गरेको हलका सचिव मदन खड्काले जानकारी दिए । बिर्तामोड क्षेत्रमा बालबालिका तथा किशोर किशोरीलाई खेलकुदका माध्यमबाट परिचित गराउँदै खेलाडी उत्पादनमा सहयोग गर्न प्रशिक्षणको थालनी गरिएको अध्यक्ष कार्कीले बताए । 

 हाल प्रशिक्षक तिवारीसँग प्रशिक्षण लिन १३ जना उमेर समूहका खेलाडी भर्ना भइसकेका छन् । मेहरमान ब्याडमिन्टन क्लबले कम्तीमा ५० जना खेलाडीलाई प्रशिक्षण योजना बनाएको छ । तीन वटा कोर्ट रहेको हलमा केही समयमै दुई वटा कोर्ट थप्ने तयारी भइरहेको कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसमेत रहेका सचिव खड्काले बताए । कभर्ड हलमा ८ वर्षमाथिका बालबालिकालाई प्रशिक्षण दिने जनाएको छ । हलले आधारभूत, भेट्रान र सुपर गरेर तीन विधामा प्रशिक्षण दिनेछ । त्यसका लागि मासिक तीन हजार, चार हजार र छ हजार रुपैयाँ प्रशिक्षण शुल्क लाग्नेछ ।

Comment